Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स दिने, यस्ता छन् मापदण्ड  

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्ने भएको छ । 

महानगरका अनुसार देशभरका ३५ वटा गाउँपालिकालाई आवश्यकता र मागका आधारमा एम्वुलेन्स दिने भन्दै सूचना जारी गरेको छ । 

एम्बुलेन्स प्राप्त गर्नका लागि महानगरले तोकेको ढाँचा र मापदण्डका आधारमा २५ असोजसम्ममा निवेदन दिन गाउँपालिकाहरुलाई अनुरोध गरिएको महानरपालिकाका अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।

महानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा ३५ गाउँपालिकालाई एम्बुलेन्स दिनका लागि बजेट बिनियोजन गरेको थियो । यही कार्यक्रम र बजेटअनुसार वितरणको गृहकार्य थालिएको महानगरले जनाएको छ । 

एम्बुलेन्स प्राप्त गर्न चाहने गाउँपालिकाले गाउँपालिकाको सडकको अवस्था, पालिकाबाट सबैभन्दा नजिक रहेको अस्पतालको दुरी, एम्बुलेन्स सञ्चालनका लागि दक्ष जनशक्ति, विगतमा एम्बुलेन्स भए नभएको विवरणलगायत महानगरलाई उपलव्ध गराउनुपर्ने भनिएको छ । 

यी मापदण्डभित्रका गाउँपालिकाका अध्यक्ष वा प्रशासकीय अधिकृतले पालिकाको निर्णयसहित निवेदन दिनुपर्ने महानगरले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update