Odapalika - The Fourth Estate - चौथो अंग
इन्द्रजात्रा हेर्न काठमाडौँ आइपुगे चीनको नान्जिनका उपप्रमुख 

काठमाडौँ । इन्द्रजात्रा पर्व हेर्न चीनको नान्जिन शहरका उपप्रमुख जी ताइजुन नेपाल आइपुगेका छन् । ताइजुनलाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्वागत गरेकी छन् । 

महानगरले इन्द्रजात्राका लागि भगिनी सम्वन्ध भएका देशभरका र बिदेशका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई काठमाडौँ बोलाएको छ । 

नान्जिन नगरका उपप्रमुख ताइजुनले नान्जिन वातारणमैत्री सहर भएको उल्लेख गर्दै नगरमा वायु प्दूषण नभएको अनुभव भेटका क्रममा सुनाएका छन् । 

‘हाम्रो नगरले चीनको जीडीपीमा ठूलो योगदान दिएको छ । नान्जिन चीनमा घोषित ठूला ९ सहरमध्येको एक सहर हो । हामीले ५४ वटा देशका १०० भन्दा धेरै नगरसँग भगिनी सम्बन्ध गाँसेका छौँ । आपसी हित र ज्ञान सिपको विषय आदान प्रदान गर्छौँ । यसमा हामीलाई गर्व छ, ढंगोलसँगको भेटमा उनले सुनाए ।

भेटमा महानगरका निर्देशक महेश काफ्ले, अन्तरराष्ट्रिय सम्बन्ध सचिवलायका प्रमुख यम बसेल, नान्जिन नगरका स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तरराष्ट्रिय मामिलाका उप महानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् ई सहभागी रहेको महानगरले जनाएको छ । 

चीनका राष्ट्रपति सि चिनफिङ् र नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा काठमाडौँ महानगरपालिका र नान्जिन नगरबीच २०७६ असोजमा भगिनी सम्बन्ध स्थापना भएको थियो । 

चीनको पूर्वी जिआङ्सु प्रान्तको राजधानी नान्जिङ साङ्घाई सहरबाट करिब ३०० किलोमिटर माथि छ । यो सहर मिङ राजवंशको समयमा करिब ४५० बर्ष राष्ट्रिय राजधानी थियो ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update