Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले नख्खु खोलामा पुल बनाउने, मेयरले गरे शिलान्यास  

ललितपुर । ललितपुर महानगरपालिकाले १४ नम्बर वडामा पर्ने नख्खु खोलामा पुल बनाउने भएको छ । पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे ।

यो पुलले वडा नंं १४ र वडा न २५ लाई जोड्नेछ । यी वडालाई जोड्ने यो पुल निर्माणको अवधि १८ महिनाको छ । ४ करोड रुपैयाँको लागतमा  निर्माण हुने यो मोटरेवल पुल बनेपछि वडा नम्वर १३, १४, २६, २७, १८ र २५ भैँसीपाटीका बासिन्दालाई सहज हुनेछ । 

नगर प्रमख चिरीबाबु महर्जनले ललितपुर उपमहानगरलाई महानगर बनाउने क्रममा गाभिएका साविकका गाविसलाई चक्रपथभित्रका वडासँग जोड्न महानगरले यसअघि २ वटा पुल निर्माणको काम थालेको बताए । 

उनले भने, ‘सुनाकोठी र कुसुन्तीमा निर्माणसम्पन्न हुँदै गरेका पुल र यो पुलले कनेक्टिभिटीमा धेरै महत्व राख्छ, आवजतज सहज हुन्छ ।’ ललितपुर उपमहानगरलाई महानगर बनाउने क्रममा गाभिएका वडासँग जोड्ने गरी निर्माण थालिएको यो पुल निर्माणलाई विशेष महत्वका साथ हेरिएको छ । महानगर प्रमुख महर्जनले बुङमतीबासीलाई पुल्चोक आउजाउ गर्न सजिलो हुने बताए । 

महानगर प्रमुख महर्जनले  तोकेको समयमा नै काम सक्न निर्माण कम्पनीमा लाई अनुरोध गरे । समयअघि नै काम सके पुरस्कार दिने बताउँदै काम नसक्दा दण्ड जरिमाना गराउने समेत चेतावनी दिए । ललितपुर महानगरका इन्जिनियर प्रदीप पौडेलले पुलको निर्माणपछि चक्रपथबाहिरका वडा र चक्रपथसँग जोडिएका वडामा बसोबास गर्नेलाई धेरै सहज हुने बताए । 

निर्माण व्यवसायी सुशिल लामिछानेले जनप्रतिनिधि लगायत सम्पूर्णको सहयोग प्राप्त भएमा पुल निर्माणको काम समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । 

ललितपुर महानगरले यसअघि सुनाकोठी र कुसुन्ती निर्माण सुरु गरेको पुल करिव ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । यी दुई पुलको निर्माण डेढ वर्ष अघि सुरु गरिएको थियो । सुनाकोठीमा निर्माण भएको पुलले वडा नंं २२ मा पर्ने बुङमतिलाई जोड्छ भने कुसुन्तीमा निर्माण भएको पुलले वडा नंं २५ र १८ लाई जोड्छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update