Odapalika - The Fourth Estate - चौथो अंग
लम्पी स्किनः नियन्त्रण नभए कुल बजेटको ७.२ प्रतिशत क्षति !

काठमाडौं । नेपालमा महामारीको रुप लिदै गरेको गाई–भैँसीमा लाग्ने रोग लम्पी स्किन तत्काल नियन्त्रणमा ल्याउन नसकिए देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने देखिएको छ । 

नेपाली अर्थतन्त्रको साढे ११ प्रतिशत हिस्सा राख्ने पशुपालन क्षेत्र लम्पी स्किनलगायतका संक्रामक रोगका कारण यतिबेला संकटग्रस्त छ । 

देशका ७१ जिल्लामा फैलिइसकेको यो रोगका कारण हालसम्म २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भइसकेको नेपाल पशु चिकित्सा परिषदले जनाएको छ । 

परिषदले यही रफ्तारमा रोगको संक्रमण फैलिने हो भने चालु आर्थिक वर्षको कुल बजेटको ७.२ प्रतिशत रकम बरावरको क्षति हुने आंकलन गरेको छ । 

संक्रमणका कारण गाई–भैँसीको मृत्युका कारण यति धेरै क्षति हुने उसको दाबी छ । परिषदका अनुसार महामारी नियन्त्रणमा नआए र यही गतिमा संक्रमण कायम रहे यो आर्थिक वर्षमा २५ लाख २६ हजार पशुमा संक्रमण फैलिने छ । 

यो रोग लागेपछि हुने मृत्युदर हाल ३.८ प्रतिशत छ । परिषदले एउटा पशुको मृत्यु हुँदा कृषकलाई सरदर ४९ हजार १३५ रुपैयाँको क्षति भइरहेको छ । 

‘यही अनुपातमा संक्रमित पशुको मृत्यु भएको अवस्थामा १ लाख गाई–भैँसी मर्छन । त्यो भनेको १ खर्ब २६ अर्बको क्षति हो,’ परिषदले सरकारलाई १ महिना अघि नै बुझाएको ध्यानाकर्षणहितको सुझाव प्रतिवेदनमा भनिएको छ । यो क्षति आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटको ७.२ प्रतिशतहुने सुझाव पत्रमा उल्लेख छ  । 

पशु चिकित्सक अभावकै कारण नेपालको दीगो विकास लक्ष्य र सरकारले प्रक्षेपण गरेको ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्यमा समेत गम्भीर असर पर्न सक्ने चिकित्सक तथा अर्थविद्हरुले चेतावनी  दिएको छन् । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update