Odapalika - The Fourth Estate - चौथो अंग
 ठेला फिर्ताको सहमति पछि मिले बालेन र गरिबको चमेली समूह 

काठमाडौँ । काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति भएको छ । 

साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ईःको समूह र काठमाडौँ महानगरपालिकाबीच ४ बुँदे सहमति भएको हो । 

उनीहरुबीच बुधबार बेलुका सहमति भएको हो । सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेका छन् । उनको नेतृत्वमा गरिवको चमेली बाल्दिने कोही छैन अभियान चलिरहेका छ । 

फुटपाथ व्यवसायीको हक र अधिकारका लागि अभियन्ता ईः १९९ घण्टादेखि काठमाडौँ महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका थिए । 

सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई महानगरले व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । 

समितिमा महानगरपालिकाका तर्फबाट तीन जना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जनाप्रतिनिधि रहने उल्लेख छ ।

समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने छ । यस्तै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थानबाहेक उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले  एक हप्ताभित्र पहल गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update