काठमाडौँ । पुरानो ढाँचा अनुसार निर्माण गर्न उपकरण नपाइएको भन्दै सडक विभागले काठमाडौं महानगरपालिकाको ग्वार्कोस्थित फ्लाई ओभरमा ढाँचा बदलेर मात्र काम अघि वढाउने भएको छ ।
पहिले प्रयोग गरिने भनिएको प्यानल भारतमासमेत नपाइएपछि अहिले नेपालमा पाइने किसिमको प्यानल प्रयोग गरेर निर्माण गर्न लागिएको विभागको भनाइ छ ।
सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार फ्लाई ओभरका विभिन्न किसिमका काममध्ये जगको काम रोकिए पनि अरु काम भइइरहेको छ ।
केन्द्रका इञ्जीनीयर रवीन्द्र श्रेष्ठका अनुसार फ्लाई ओभरको ‘प्यानल स्लाव’को काम भइरहेको छ भने वालको प्यानल स्लाब पहिले भूइँमा बनाएर जडानपछि जडान हुने गरी तयारी गरिएको छ । प्यानल फ्लाईओभर निर्माण भएको ठाउँ नजिकै ढलान भइरहेको उनले जानकारी दिए ।
२ हजार ४०० ठूला प्यानल बनाउनुपर्ने केन्द्रले जनाएको छ । बनिसकेपछि क्रेनले उचालेर पुल बन्ने ठाउँमा लगेर राखिने उनले बताए ।
ढाँचामा थोरै परिमार्जनका लागि निर्माण कम्पनीले प्रस्ताव गरेको उनको भनाइ छ । पहिले निर्माण कम्पनीले थोरै संख्यामा गहिरोसँग पाइल राख्ने गरी डिजाइन पेस गरेको थियो । यसको लागि आवश्यक उपकरण नेपालमा नपाइने भन्दै उसले भारतमा खोजी गरेको थियो । भारतमा पनि त्यो पाउन नसकिएपछि अहिले फरक किसिमको पाइल प्रयोग गर्ने योजना बनेको छ ।
२ वर्षे ठेक्काको अवधि आगामी फागुनसम्म छ । तर काम सुस्त गतिमा छ । सुरुको तालिका अनुसार अहिले नै काम केही ढिला भइसकेको छ ।
फ्लाईओभर निर्माणका लागि सडक विभागाले गत मंसिदेखि नै सडक लेन बन्द गरेको छ । बालकुमारी पुलबाट ग्वार्को चोकबीचको चार लेन बन्द हुदा पैदलयात्री र सवारी साधनले सास्ती खेप्नु परेको छ ।
२०७८ फागुनमा डिजाइन सुरु भएको थियो । सरकार आफैँले निर्माण गर्न लागेको पहिलो ‘फ्लाईओभर’ सरकार र निर्माण व्यवसायी दुबैका लागि नयाँ हो । अहिलेसम्म ‘फ्लाईओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको सडक विभागले बताउँदै आएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाईओभर’ को उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट ४ प्रतिशतको ग्रेडमा चढेपछि फ्लाईओभर पुगिने छ ।
त्यतातर्फ दुई सय ८० मिटर लामो ‘¥याम’ हुने र सातादोबाटो तर्फ झर्न एक सय ७५ मिटर लम्बाइको ‘¥याम’ हुने बताइएको छ । ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाईओभर’ को जम्मा लम्बाइ ४ सय ९० मिटर हुनेछ ।
मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुल मुनिबाट जानेछन् भने माथिबाट चक्रपथतर्फ जाने सवारी साधन चल्ने छन् ।