Odapalika - The Fourth Estate - चौथो अंग
पालुङको इन्द्रजात्राः भैरवले बोको काट्छन्, गणेश र देवीले भोग खान्छन्

हामी गठेमंगलमा देउता निकाल्छौं । नेवारहरुको कल्चर गठेमंगलबाट सुरु हुन्छ । लाखे नचाउन थालिन्छ । योभन्दा अगाडिको पूर्णिमाको दिन सबै नेवारहरुको हिलेजात्रा लाग्छ । अब हामी आज इन्द्रजात्रा मनाएर सबै देवी देउता भित्र राख्छौं । यसपछि हामीले अर्काे वर्षको गठेमंगलमा मात्रै देउता निकाल्ने चलन छ ।

इन्द्रजात्राको दिन हामीले गणेश, कुमारी, इन्द्रायणी, बाराही र भगवती नचाउँछौं । कालभैरव पनि नचाइन्छ । 

काठमाडौँको इन्द्रजात्रामा बेग्लै रथहरु हुन्छन् । पालुङको इन्द्रजात्रामा रथ हुँदैन । देवीहरु नचाइन्छ । र, उनीहरुलाई बोकाको भोग दिइन्छ । देवीहरुले बोकाको भोग खान्छन् । देवी नाच्नेहरुले काम्ने गर्छन् । तान्त्रिक विधिबाट पुजा हुन्छ । देवीहरुले भोग खाएपछि त्यही प्रसाद पकाएर हामी भोज खान्छौं । र, देउतालाई अब अर्काे वर्षसम्मको लागि बसिदिन अनुरोध गर्दछौं । 

पालुङका नेवारहरु धेरै पहिला काठमाडौँबाट आएका हुन भन्ने किंवदन्ती छ । काठमाडौँबाट बाहिर गएका अन्य स्थानका नेवारहरुले इन्द्रजात्रा मनाउँछन् जस्तो लाग्दैन । तर, हामीहरु चै मनाउने गर्छाैं । 

पालुङमा घोडेजात्रा पनि मनाइन्छ । पालुङमा अघिल्लो दिन घोडेजात्रा मनाइन्छ, काठमाडौँमा भोलिपल्ट । र, इन्द्रजात्रा भने अघिल्लो दिन काठमाडौँमा र भोलिपल्ट पालुङमा मनाउने गरिन्छ । किन यसरी एक दिन अघि वा पछि मनाइन्छ भन्ने चाही मलाई थाहा भएन । 

palung-indrajatra (4)1695955660.jpg

पालुङमा हामी ८० देखि ९० घर नेवार छौं । इन्द्रजात्राको दिन विहान सबैले घरघरबाट पुजा लानुपर्छ । त्यसमा पाँचवटा देवीलाई ५ वटा अण्डा लग्नै पर्छ । छ्याङ पनि लाने गरिन्छ । समयबजी भुटेर र फलफूल राखेर लानुपर्छ । हाम्रो कालाभैरव गुठी छ । अर्काे ३ वर्षे जात्रा पनि छ । यी ५ वटै देवीको ५ वटा रथ पनि छ । त्यो ठूलो जात्रा हो । पुजारी नेवारहरु नै हुन्छन् । पुजारीहरु विहानैदेखि भोकै बसेका हुन्छन् । 

दिउसो ३ बजेदेखि लाखे नचाउने, ख्या नचाउने, राजारानी नचाउने गरिन्छ । हाम्रो देउता कामिरहेको हुन्छ । उनीहरुलाई ल्याएर मुकुट लगाइन्छ । अनि १ घण्टाजति नचाइन्छ । नाच्दै गर्दा देउताले घरघरबाट ल्याएको अण्डा खान्छन् । आ–आफ्ना देवीहरुलाई देउताले नै अण्डा दिन्छन् । आफ्ना देवीहरुलाई  ५/१० वटा अण्डा फुटाएर दिन्छन् । देउता आफैले पनि  ५/१० वटा अण्डा खान्छन् । 

नाच्दा नाच्दा थकाइ लागेपछि देउताले जलको रुपमा रक्सी खान्छन्, अण्डा पनि खान्छन् । अन्तिममा एउटा बोका काटिन्छ । सबै देवीले त्यही एउटा बोकाको भोग खान्छन् । 

palung-indrajatra (6)1695955662.jpg

बोका भैरवले काट्छन्, सुरुमा गणेशले भोग खान्छन् । त्यसपछि सबै देवीले पालैपालो भोग खान्छन् । भोग खान लागेपछि देवीले बोका छोड्दै छोड्दैनन् । ८–१० जनाले बोका तान्नुपर्छ र त्यति नै जनाले देउता समाएर तान्नुपर्छ । अनि मात्रै भोग छुटाउन सकिन्छ । 

हाम्रा एउटा गणेश छन् । उनी मासु खाँदैनन् । तर, भैरवले बोका काटेपछि उनलाई हरर्र बास्ना आउँछ रे । त्यसपछि ती गणेशले पनि भोग खान्छन् । एउटैले १५ वटासम्म काँचो अण्डा खान्छन् तर उनीहरुलाई केही हुँदैन । कहिल्यै रक्सी नखानेले पनि रक्सी खान्छन् । भोज खादावर्दा रातिको १० जति बजिसक्छ । देउतालाई भने साझ ७ बजेतिर विदा गरिन्छ । पालुङको नेवार गाउँको बीचमा डबली छ, नाच त्यही हुने हो । डबली २ वटा छन् ।

palung-indrajatra (7)1695955663.jpg

palung-indrajatra (1)1695955665.jpg

palung-indrajatra (8)1695955665.jpg

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update