Odapalika - The Fourth Estate - चौथो अंग
थाहानगरले ६० जना ज्येष्ठ नागरिकलाई गरायो कालिन्चोक तीर्थयात्रा

मकवानपुर । थाहा नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा गराएको छ । नगरपालिकाले नगरस्तरीय ज्येष्ठ नागरिक समितिले छनौंट गरेका ज्येष्ठ नागरिकहरुलाई दोलखाको कालिन्चोक, दोलखा भिमसेन, काभ्रेको नमोबुद्धलगायतको तीर्थस्थलहरुमा यात्रा गराएको हो । 

नगरभरीबाट छनोटमा परेका ६० जना ज्येष्ठ नागरिकलाई पालिकाले तिर्थयात्रा गराएको थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए । 

तीर्थयात्रामा सहभागी सबै ज्येष्ठ नागरिकहरुको खर्च नगरपालिकाले व्यहोरेको छ । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि नगरपालिकाले यो अभियान चालेको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । 

thaha-jestha-nagarik (2)1695956310.jpg

ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य संवेदशीलतालाई ख्याल राख्दै तीर्थयात्रामा स्वास्थ्यकर्मी समेत साथसाथै लगिएको थियो । थाहा नगरपालिकाले अघिल्लो वर्ष पनि नगरस्तरीय ज्येष्ठ नागरिक समितिको सिफारिसमा देवघाटलगायतको धार्मिक स्थलमा तीर्थयात्रा गराएको थियो । ‘अघिल्लो आर्थिक वर्ष तिर्थ गएका ज्येष्ठ नागरिकहरु यो वर्ष सहभागी हुँदैनन्, यो वर्ष सहभागी भएकाहरु अर्को वर्ष जाँदैनन्,’ सामाजिक विकास अधिकृत लामिछानेले भने । 

थाहा नगरपालिकाको सबै वडामा वडास्तरीय ज्येष्ठ नागरिक समिति गठन भएका छन् भने नगर सञ्जाल सक्रिय छ । पालिकाले वर्षैपिच्छे ज्येष्ठ नागरिक सम्मान तथा न्यानो कपडा तथा सहायता सामाग्री वितरण गर्दै आएको छ । पालिका क्षेत्रमा रहेका २ वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई पनि सहयोग गर्दै आएको छ । थाहामा २ वटा दिवा सेवा केन्द्र छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update