Odapalika - The Fourth Estate - चौथो अंग
एमाले प्रदेश अधिवेशनः कोशीमा उद्घाटन, बागमतीमा मतदान, मधेशको २४ गते  

काठमाडौँ ।  नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । 

भोलिसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागिता रहनेछ । 

अधिवेशनमा कोशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एकहजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ । 

बागमतीमा मतदान हुँदै 

बागमतीको जारी अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । ९ असोजमा नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो ।

बागमती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुँदै छ । अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए। त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए । सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन् । 

मधेश प्रदेशको पहिलो अधिवेशन २४ असोजमा 

एमाले मधेश प्रदेशको अधिवेशन जनकपुरधाममा २४ र २५ असोजमा हुने तय भएको छ । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत सो पार्टीले मधेश प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजानिक गरेको हो । 

२४ गते महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने अधिवेशनमा १ हजार प्रतिनिधि सहभागिता रहने भट्टराइले बताए ।

पत्रकार सम्मेलनमा एमालेका सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले, विगत ६ वर्षको मुल्यांकन गर्दा एमालेको सरकार बिना मधेश प्रदेशको विकास र समृद्विको सम्भावना नरहेको दाबी गर्दै यही नारा बोकेर २०८४ को चुनावमा पनि जाने बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update