Odapalika - The Fourth Estate - चौथो अंग
६०० कर्मचारी हटाएर सरसफाइ अभियान गर्दै छ बीरगञ्ज महानगरपालिका 

पर्सा । सरसफाई क्षेत्रमा काम गर्ने २५० सहित ६०० भन्दा वढी करारका कर्मचार िहटाएर वीरगञ्ज महानगरपालिकाले सरसफाइ अभियान तिव्र पारेको छ । 

गत भदौमा यी कर्मचारी हटाएपछि थालिएको सरसफाइ अभियान कर्मचारी अभावकै कारण प्रभावित हुन थालेको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँ बताउँछन् । 

सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ महानगरपालिकाले नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिमाना गर्दै आइरहेको छ । तर नियमित सरसफाइमा संलग्न कर्मचारीलाई कामबाट हटाएपछि सरसफाइको काम प्रभावित भएको प्रमुख मियाँको भनाइ छ । 

अभियान थालेपछि नगर सफा देखिन थालेपनि सरसफाइका कर्मचारी हटाइएका कारण कसरी नियमित रुपमा कार्यसम्पादन गर्ने भन्ने चुनौती देखिएको मियाँको भनाइ छ । 

महानगरले जरिमानासँगै जथाभावी सडक र गल्लीमा फोहोर फाल्नेलाई  सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने घोषणा गरिसकेको छ । 

महानगरले गत पुस देखि फोहोर फाल्नेमाथि कडा जरिमाना तिराउँदै आएको छ । जसका कारण फोहोर फाल्ने क्रम कम भएपनि कर्मचारी अभावमा काम तिव्र रुपमा अघि वढ्न सकेको छैन । 

महानगरले जथाभावी फोहोर फाल्नेबाट गत पुसदेखि हालसम्म जनप्रतिनिधिसहित ५७५ जनालाई जरिमाना तिराएको छ । जसबाट महानगरले १९ लाख ७७ हजार रुपैयाँ राजस्व उठाएको मियाँले जानकारी दिए । 

महानगरपालिकाले ३२ वटै वडामा दैनिक ३ पटक सडक र नाला सफाइ अभियान चलाइरहेको छ । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल भने प्रक्रियाअनुसार नियुक्र नभएका कर्मचारी हटाइएको दाबी गर्छन् । 

प्रदेश सरकारले स्थानीय तहमा कर्मचारी भर्ना सम्वन्धि ऐन नबनाइदिएका कारण तत्काल थप कर्मचारी नियुक्त गर्न समस्या रहेको उनको भनाइ छ । 

‘स्थानीय सरकारले कर्मचारी भर्ना गर्न प्रदेशसभाबाट कर्मचारी भर्नासम्बन्धी ऐन बनाएर आउनुपर्छ, तर प्रदेशसभाले ऐन बनाउन सकेको छैन । प्रदेशसभाबाट  ऐन नबन्दासम्म कर्मचारी नियुक्त गर्न सकिँदैन,’ उनले वडापालिकासँग भने । 

नगरप्रमुख राजेशमान सिंह भने भएका कर्मचारीबाटै प्रभावकारी कार्यसम्पादन गर्न लगाएर भएपनि महानगरलाई सफा र स्वच्छ राख्ने अभियान सफल बनाएरै छाड्ने दाबी गर्छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update