Odapalika - The Fourth Estate - चौथो अंग
सिरानचोक गाउँपालिकाको पहलः विद्यार्थी र १८ वर्ष नपुगेकालाई मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

काठमाडौँ । गोरखाको सिरानचोक गाउँपालिकाका ३ वटा वडाले बालबालिकालाई मदिरा र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएका छन् । 

वडा नम्बर ३, ४ र ७ ले १८ वर्ष उमेर नपुगेका बालबालिकालाई उक्त वस्तु बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाएका हुन् । यस्तै, वडा नम्बर ३ ले भने विद्यालय पोशाकमा रहेका जुनसुकै उमेरका विद्यार्थीलाई पनि मदिरा र सुर्तीजन्य पदार्थ विक्रीमा रोक लगाएको छ ।

गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले हाल ३ वटा वडामा प्रतिवन्ध लगाइएको र अन्य वडामा लगाउने तयारी गरिएको जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ७ श्रीनाथकोटमा बालबालिकालाई मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीवितरण सँगै कमसल खालका मदिरा समेत बिक्रीमा पूर्ण रुपमा रोक लगाइएको छ ।  वडामा सस्तो मूल्यका मदिरा बिक्री बढ्दै गएको भन्दै वडाले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कमसल खालका मदिरा बिक्रीमा रोक लगाएको हो । उक्त वडाले गत आर्थिक वर्ष २०७९÷०८० बाटै उक्त कार्यमा प्रतिबन्ध लगाएको गाउँपालिका अध्यक्ष गुरुङले वडापालिकालाई जानकारी दिए ।

वडा नम्बर ४ छोप्राकले समेत गत साउनदेखि बालबालिकालाई मदिरा र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो । 

यस्तै, वडा नम्बर ३ हर्मीले समेत शुक्रबारदेखि विद्यालय पोसाकमा रहेका १८ वर्षमुनिका बालबालिकालाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ ।

वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिए ।

‘वडामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ । बिक्री वितरणका लागि छुट भएको समयमा पनि बालबालिका र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई भने बिक्री गर्न नपाइने नियम लागू गरिएको छ,’ उनले भने ।

वडाध्यक्ष ढकालले वडा कार्यालयको बैठक नै बसेर निर्णय गरी वडाभित्र मदिरा बिक्री वितरणमा कडाई गरेको बताए । वडा कार्यालयले लागू गरेको नियम कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । निर्णयविपरीत कसैले मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण गरेको पाइए पाँच सय रुपैयाँ जरिवाना गरिनेछ ।

पछिल्लो समयमा विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालयको त्यसको नियन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाएको हो । त्यस्तै, वडाभित्र दर्ता नभई सञ्चालनमा रहेको व्यवसायीलाई अनिवार्य पसल दर्ता गरेर मात्र सञ्चालन गर्न पनि वडा कार्यालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update