Odapalika - The Fourth Estate - चौथो अंग
हुम्लाको नाम्खाबासीलाई कुहिएको चामल बेच्छ खाद्य कम्पनी

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ ।

लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो । 

नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको छ । 

एक घरधुरीलाई ४ बोराका दरले बिक्री गरिएको थियो । उनले त्यसमा २ बोरा चामल कुहिएको भेटिएको बताए । अधिकांश खाद्यान्न पाएका घरपरिवारको चामलमा डल्ला परेको र कुहिएको बताए ।    

२५ किलोको बोरा चामललाई यहाँक स्थानीयले २ हजार ३७५ हालेर किनेका हुन्  । करिब ५० घरधुरीका नागरिकले चामल बिक्री गरिएकामा अधिकांश बोरा कुहिएको भेटिएको स्थानीयको गुनासो छ । मुचुगाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ । घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने भएको स्थानीयको गुनासो छ ।

हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी परेर भिजेका कारण कुहिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । 

काठमाडौँ–केरुङ हुँदै तिब्बती मार्गबाट हिल्सा नाकाबाट ४ हजार क्विन्टल खाद्यान्न ढुवानी भएको थियो । जसमध्ये १ हजार क्विन्टल चामल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो ।    

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update