Odapalika - The Fourth Estate - चौथो अंग
रसुवामा भयावह बन्दै लम्पी स्किन, १५९ पशु मरे

रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित छन् । हालसम्म लम्पी स्किनबाट १५९ पशुचौपाया मरेका छन् ।         

जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ । 

उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार ६ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको छ । 

गोसाइँकुण्डभित्र करिब ८०० पशु लम्पी स्किनबाट संक्रमित छन् । लम्पी स्किनबाट संक्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ । हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग बढी फैलिएको उनी बताउँछन् ।

नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ । आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झण्डै १ हजार ५०० पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन् ।             

कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताए । सङ्क्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update