Odapalika - The Fourth Estate - चौथो अंग
रोङ गाउँपालिकाको लोभलाग्दो प्रगतिः जताततै होमस्टे, मौरीका घारसँगै गुन्द्रुकका परिकार

इलाम ।  पछिल्लो समय कृषि र पर्यटन विकासका क्षेत्रमा स्थानीय तहहरुबाट लोभलाग्दो काम हुन थालको छ । 

इलामको रोङ गाउँपालिकाले पर्यटन र कृषि लक्षित कार्यक्रम थालेपछि यहाँका स्थानीय यसबाटै आत्मनिर्भर बन्ने बाटोमा लागेका छन् । 

गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको छ । २२ वटा घरलाई सामुदायिक होमस्टेमा रुपान्तरण गरेर सञ्चालनमा ल्याएपछि पर्यटक आगमन पनि वढेको गाउँपालिकाले जनाएको छ ।  

विगत ५ वर्षदेखि ‘दशकेलो सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए । कालिदास नेपाल, अष्ट्रेलियन सरकारको सहयोगमा सामुदायिक होमस्टे सञ्चालन गरिएको उनको भनाइ छ ।

थोरै पैसामा प्रकृति सजाएर पर्यटन विकासको काम रोङ गाउँपालिकाले गरिरहेको उनले बताए । पालिकाभित्र पर्ने सानो पाथीभरा मन्दिर व्यवस्थापन समितिले अनियमितता गरेको भेटिएपछि सो मन्दिरको समेत पालिका आफैँले व्यवस्थापन थालेपछि धार्मिक पर्यटक मात्रै वढेका छैनन्, मन्दिरको आम्दानी पनि वढेको छ । 

पालिकाले सानो पाथीभरादेखि मेचीसिद्धी दोभानसम्म १९ किलोमिटर लामो करसोङ पदमार्ग समेत सञ्चालनमा ल्याएको छ । पालिकामा रहेको सानो पाथीभरमा वार्षिक डेढदेखि २ लाखसम्म पर्यटक आउने गरेका छन् । 

पालिकाले स्थानीयवासीलाई गुन्द्रुक र सिस्नो उत्पादनमा समेत प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाले रोङको पहिचानका रुपमा गुन्द्रुक र सिस्नुको प्रचारप्रसार र बिक्री वितरणको व्यवस्था मिलाइदिएपछि स्थानीयहरुको आयाआर्जनको श्रोतसमेत वढेको पालिका अध्यक्षको भनाइ छ । 

पालिकाकी सूचना अधिकृत श्रुती कुमारी तामाङका अनुसार पालिकाले मौरी पालनलाई समेत प्राथमिकतामा राखेर काम गर्दै आएको छ । 

गत बैशाखयतामात्र कृतिम रानी मौरी उत्पादनका लागि पालिकाभित्रका १० जना कृषकलाई ३ साता लामो तालिम दिइएको छ भने पालिकाले यो अवधिमा मात्र ३५ हजार फलफूलको विरुवा वितरण गरेको छ । 

कागती, एभोकाडो र कफीका विरुवासमेत दिदै आएको पालिकाले स्थानीय कृषकलाई ६०० वटा मौरीका आधुनिक घार वितरण गरेको उनले जानकारी दिइन् । 

मौरी विकास कार्यक्रम अन्तर्गत १७० जना कृषकलाई मौरीपालन तालिम दिएको पालिकाले स्थानीयले पालेका गाईको कृतिम गर्भाधानमा समेत लगानी गर्दै आएको छ । 

बाख्रा साना व्यवसायिक पकेट कार्यक्रम अन्तर्गत पालिकाका ५ वटा वडामा ५० प्रतिशत अनुदान दिएर बाख्राको खोर बनाउने कामसमेत सम्पन्न भएको पालिका अध्यक्षको भनाइ छ । 


 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update