Odapalika - The Fourth Estate - चौथो अंग
डिपो घेराउपछि बल्ल पुग्ने भो जुम्लाका वडावडामा नुन 

जुम्ला ।  साल्ट ट्रेडिङ कार्यालय जुम्लाले आठवटै स्थानीय तहमा वडास्तरबाटै नुन वितरण गर्ने भएको छ ।

स्थानीयले नुन वितरण सहज नभएको भन्दै गत ३१ असारमा  डिपो कार्यालय तोडफोड गरेका थिए । स्थानीयको दवाबपछि  वडाबाट वितरण हुने गरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।

डिपो कार्यालयमा तोडफोड भएको घटनाका विषयमा नेपाल साल्ट ट्रेडिङ कार्यालयलाई सत्यतथ्य छानबिन गर्न अनुरोधसमेत गरिएको छ । थप नुनको प्रभावकारी व्यवस्थापनका लागि वडामै वितरण गर्न निर्देशन दिएको प्रजिअ घिमिरेको भनाइ छ ।

यो भन्दा पहिला पनि वडामा पठाउने निर्णयलाई कार्यान्वयन गरी वडावाटै वितरण गर्दा उपझोक्ता डिपो कार्यालयमै आउनु नपर्ने र आवश्यकतानुसार नुन वडामै पठाउने तयारी थालिएको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले बताए ।

स्थानीय तहको वडापालिकाको समन्वयमा एक वडालाई बढीमा १० क्विन्टल नुन वडामै केही सातापछि पठाइने भएको छ । मल्लका अनुसार अहिले डिपो कार्यालयमा ८२१ क्विन्टल र अरु २  बिक्री केन्द्रमा क्रमशः ५५० र ३५० किलो नुन मौज्दात छ ।  

गत वर्ष जुम्लाका लागि २ हजार ५०० क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र २ हजार ८० क्विन्टल नुन थप भएकाले नुन अभाव नहुने कार्यालय प्रमुख मल्लको भनाइ छ । 

सिञ्जा क्षेत्रमा पर्ने हिमा, कनकासुन्दरी र सिञ्जा  गाउँपालिकाको नराकोटबाटै नुन वितरण हुने गरेको छ ।  हाल सदरमुकाम खलंगामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालयबाट चन्दननाथ नगरपालिका, पातारासी, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई  नुन वितरण गरिँदै आएको साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ ।

पातारासीले माग्यो डिपो 

पातारासी गाउँपालिकामा नुनको डिपो आवश्यकता रहेको भन्दै विभिन्न चरणमा माग राख्दै आए पनि कार्यान्वयन हुन नसकेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकाया बताउँछिन् । 

डिपो विस्तारका लागि पालिकाले पटक–पटक पहल गरे पनि सुनुवाइ हुनसकेको छैन । साल्ट ट्रेडिङका अनुसार अहिले पनि जुम्ला सदरमुकाममा रहेको डिपो, नराकोट र गोरुचौर डिपोमा नुन मौज्दात छ ।

नुन नपाएपछि स्थानीयवासीले डिपो कार्यालयमा ढुङ्गामुढा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जुम्लामा नुनको कमी हुन नदिन सोमबारमात्रै ३२० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय नेपालगन्जका प्रमुख महेश चौधरीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update