Odapalika - The Fourth Estate - चौथो अंग
संघीय संसदमा पेश हुँदै स्थानीय सरकार र शिक्षकले मन नपराएको विद्यालय शिक्षा विधेयक

काठमाडौँ ।  प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बोलाइएको छ । 

आजको बैठकमा स्थानीय सरकार र सामुदायिक विद्यालयका शिक्षकहरुसमेतले मन नपराएको विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूची छ । 

सम्भावित कार्यसूचीमा परेको यो विधेयकका कारण शिक्षकहरुले एकसाता लामो काठमाडौँ केन्द्रित आन्दोलन गरे भने स्थानीय तहहरुले स्थानीय तहको अधिकार क्षेत्रमा रहेको विद्यालय शिक्षामा संघीय सरकारले हस्तक्षेप गरेकोे भन्दै विरोध जनाउँदै आएका छन् । 

स्थानीय सरकारले संविधानको अनुसूचीमार्फत पाएको २२ वटा एकल अधिकार मध्ये विद्यालय शिक्षा स्थानीय तह मातहत हुने भनिएको छ । 

तर सरकारले संघीय शिक्षा ऐनका अतिरिक्त विद्यालय शिक्षा विधेयकसमेत संसदबाट पारित गराउने तयारी गरेको छ । 

आन्दोलनरत करारका शिक्षकहरुसँग समेत ६ बुँदे सहमति गरेपछि सरकारले आज विधेयक संसदमा पेश गर्न लागेको हो । 

संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचिमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ । 

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूचीे छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update