Odapalika - The Fourth Estate - चौथो अंग
११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण 

काठमाडौँ । काष्ठमण्डप पुननिर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । 

समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले आइतवार काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् ।

पुननिर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्याङ्कन, आर्थिक विवरण प्रतिवेदनमा समावेश गरिएको छ । २ खण्ड (‘क’ र ‘ख’) का अनुसूचीमध्ये ‘क’ खण्डमा समिति गठन सम्बन्धी पृष्ठभूमि, अवधारणा, पुननिर्माण सम्बन्धी सांगठनिक संरचना र कार्य सञ्चालन विधि, संक्षिप्त कार्य विवरण राखिएको छ । 

यस्तै खण्ड ‘ख’ मा आर्थिक बर्ष २०७४÷०७५ देखि २०७९÷०८० सम्मको लेखा परीक्षण प्रतिवेदन, स्ट्रक्चर एनालाइसिस प्रतिवेदन, पुरातत्व विभागबाट स्वीकृत नक्सा, निर्माणका क्रममा तयार पारिएको नक्सालगायत कागजपत्र छन् । 

मुल थाम उठाउने, झिँगटी लगाउने, मुख्य सामग्री विवरण, पूजा क्रम र अनुष्ठानको सूची, वाह्य र विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन समावेश गरिएको छ । 

प्राप्त प्रतिवेदन अध्ययनका लागि सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यलाई प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, विभागबाट प्रतिवेदन अध्ययन भएपछि छलफलका लागि सम्पदा पर्यटन समितिमा लगिने बताए । यसपछि प्रमुख, उपप्रमुखसमक्ष छलफलका लागि प्रतिवेदन लगिनेछ । यसै क्रममा काष्ठमण्डप खुला गर्ने विषयमा छलफल हुनेछ । 

प्रतिवेदन बुझाउँदै समितिका अध्यक्ष शाक्यले, महालेखा परीक्षकले औल्याएका विषयलाई मध्यनजर गर्दै आर्थिक विवरण पेश गरिएको जानकारी दिए । शाक्यका अनुसार महानगरपालिकाबाट उपलब्ध गराइएको ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । काम भइसकेको भुक्तानी गर्न अब ३६ लाख ८६ लाख रुपैयाँ बाँकी छ । 

काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिन उनले आग्रह गरेपछि प्रमुख प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने बताए ।

२०७२ सालको भूकम्पले काष्ठमण्डप पूर्ण क्षति भएको थियो । यसको पुननिर्माणका लागि २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको भेलाको निर्णयबाट तत्कालीन प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएको थियो । 

२०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुननिर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहार्ने निर्णय ग¥यो । यसको ४ दिनपछि अर्थात ज्येष्ठ २९ गते महानगरपालिका र समितिबीच पुननिर्माणका लागि सम्झौता भएको थियो । 

सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई ५० लाख रुपैयाँ प्रदान गरिएको थियो । त्यसपछि महानगरपालिकाले समितिलाई ०७५ असोज २७ गते ५ करोड रुपैयाँ, ०७६ माघ ९ गते ५ करोड रुपैयाँ र ०७८ असार १६ गते १ करोड रुपैयाँ उपलब्ध गराएको थियो । 

स्थानीय सहभागितामा निर्माण भएको काष्ठमण्डपलाई भत्किनु पूर्वको शैली र स्वरुपमा निर्माण गरेर २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको थियो । पुननिर्माण समितिका संयोजक शाक्यले, महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यलाई र प्रमुख शाक्यले तत्कालीन राष्ट्रपति भण्डारीलाई साँचो दिएपछि लोकार्पण भएको थियो ।

यसपछि मूर्ति स्थापना र प्राविधिक अवस्थाको विषय उठेपछि काष्ठमण्डप समितिकै जिम्मेवारीमा थियो । 

काष्ठमण्डप पुननिर्माण सकिएपछि अहिले करिब ६७ लाख रुपैयाँ बराबरका काठलगायत सामग्री बाँकी रहेको समितिले जानकारी दिएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update