Odapalika - The Fourth Estate - चौथो अंग
कैसाङको सोचः जहाँ सरकार नै अस्पतालमा ग्यारेन्टी बसेर पनि गराउँछ बिरामीको उपचार

काठमाडौँ । रसुवाको गोसाइकुण्ड गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नागरिकको स्वास्थ्य तथा उपचारलाई उच्च प्राथमिकतामा राखेको छ । 

गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले नै गाउँपालिकाभन्दा बाहिरका अस्पतालहरुमा गएर उपचार गराउनु पर्ने अवस्था भएमा त्यस्ता अस्पतालहरुसँग विरामीको आफन्तको तर्फबाट छुट मागिदिने गरेका छन् ।

‘गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा उपचार हुने अवस्था रहेछ भने त नियमअनुसार उपचार हुन्छ नै । यहाँभन्दा बाहिरएका अस्पतालमा गएर उपचार गराउनु पर्ने रहेछ भने रिफर गरिएको अस्पतालमा कति छुट दिने भनेर म आफैले पनि कुरा गर्ने गरेको छु,’ अध्यक्ष तामाङले वडापालिकासँग भने ।

गोसाइकुण्ड गाउँपालिकाले दीर्घ रोगीलाई उनीहरुले खाने औषधी निःशुल्क उपलब्ध गराउनको लागि पहल गरिरहेको छ । यस्तै, जेष्ठ नागरिकले एम्बुलेन्स प्रयोग गर्नुपर्ने अवस्था आएमा गाउँपालिकाको एम्बुलेन्स निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । 

‘जेष्ठ नागरिक र पैसा नै तिर्न नसक्ने विपन्नलाई एम्बुलेन्स प्रयोग गरेको पैसा लाग्दैन, अन्य नागरिकको लागि भने तोकिएको शुल्कमा ५० प्रतिशत छुट हुन्छ,’ अध्यक्ष तामाङले भने ।

यस्तै, गोसाइकुण्ड गाउँपालिकाका नागरिकलाई सो गाउँपालिकाभन्दा बाहिरका अस्पतालमा उपचार गराउनु पर्ने भएमा गाउँपालिकाले २० प्रतिशत खर्च दिने गरेको छ । उपचार गर्न सहयोग होस भनेर यसरी खर्च दिएर पठाउने गरिएको अध्यक्ष तामाङ बताउँछन् ।

‘आर्थिक अवस्था हेरेर २० प्रतिशतसम्म उपचार खर्च गाउँपालिकाले दिन्छ । यो रकम चै उनीहरुको आवश्यकता हेरेर दिने हो,’ अध्यक्ष तामाङ भन्छन् ।

यस्तै, गोसाइकुण्डबाट काडमाडौँ उपत्यकाभित्रका अस्पतालहरुमा उपचार गराउन आउनु पर्दा ती अस्पतालमा गाउँपालिकाले नै छुट मागिदिने गरेको छ । आफ्नो गाउँपालिकामा भएका स्वास्थ्य संस्थामा उपचार गराउन सम्भव नभइ अन्यत्र लानु परेको अवस्थामा मात्रै यसो गर्ने गरिएको हो ।

‘काठमाडौँका ५ वटा जति अस्पतालहरुमा हामीले कुरा गरेका छौं । गोसाइकुण्डका विरामी आउँदा ती अस्पतालहरुमा आउँछन् । र, अस्पतालहरुले पनि हाम्रो गाउँपालिकाका विरामीलाई अस्पताल खर्चको २० देखि ३० प्रतिशतसम्म छुट दिने गरेका छन् । यसो गर्दा विरामी र अस्पताल दुबै पक्षलाई फाइदा भएको देखिएको छ,’ अध्यक्ष तामाङले भने ।

उपचार गराउँदा गराउदै पैसा पुगेन वा विरामी भर्ना गरेर उपचार गराउन पैसा भएन भने पनि गाउँपालिका नै ग्यारेन्टी बसेर उपचार गराउने पनि गरेको छ । 

‘मान्छे कतिबेला विरामी पर्छ वा कतिबेला दुर्घटनामा पर्छ भन्ने त केही हुँदैन । जतिबेला पनि विरामी पर्न सकिन्छ । विरामी परेको बेलामा पैसा नहुन सक्छ । खोज्न समय लाग्न सक्छ । यस्तो बेलामा अस्पतालहरुमा गाउँपालिका नै ग्यारेन्टी बसेर उपचार गर्दै गर्ने र पछि विरामीका आफन्तले पैसा जुटाएपछि पैसा तिर्ने गरेका उदाहरण पनि छन् । मेरो मुल ध्येय भनेको पैसा नभएर उपचार राेक्नु नपरोस भन्ने नै हो, मेरो गाउँपालिकाभित्रका सबै नागरिकले समयमै उचित उपचार पाउनु पर्छ,’ अध्यक्ष तामाङ भन्छन् । 

गोसाइकुण्ड गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका सबै गर्भवतीको निःशुल्क रुपमा भिडियो एक्स रेसहितको सबै प्रकारका परीक्षण गर्ने गरेको छ । 

गाउँपालिकाले धुन्चेमा एउटा फिटनेस सेन्टर पनि स्थापना गरेको छ । नागरिकको स्वास्थ्यप्रति चासो राख्दै फिटनेस सेन्टर स्थापना गरिएको हो ।

सो फिटनेस सेन्टरमा गाउँपालिकाका अध्यक्ष तामाङ र उनकी श्रीमती नियमित जाने गरेका छन् । आफूहरु नियमित जाँदा अरुलाई प्रेरणा मिल्ने र धेरैको मनमा उत्साह पनि थपिने गरेको पाइएको उनी बताउँछन् ।

गाउँपालिकाले २५ लाख रुपैयाँ खर्च गरेर सो फिटनेस सेन्टर स्थापना गरेको हो । सो फिटनेस सेन्टरमा अहिले ८० जना नियमित ग्राहक छन् । उनीहरुले मासिक १ हजार रुपैयाँका दरले शुल्क तिर्छन् । यस्तो शुल्कबाट फिटनेस सेन्टरको मर्मत सम्भार तथा त्यसमा काम गर्ने कर्मचारीको पारिश्रमिक दिने गरिएको अध्यक्ष तामाङले बताए । सो फिटनेस सेन्टरमा अहिले ५ जना कर्मचारीले रोजगारी पाइरहेका छन् । अहिले गाउँपालिकाको सबै वडामा यस्तो फिटनेस सेन्टरको माग आएको उनले सुनाए ।

धेरै स्थानीय तहले सडक पूर्वाधार निर्माणमा ध्यान दिइरहेको समयमा गोसाइकुण्ड गाउँपालिका भने शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा बढी केन्द्रीत भएको छ । तर, आफूले पूर्वाधार निर्माणमा पनि उत्तिकै जोड दिएको तामाङ बताउँछन् ।

‘पूर्वाधार निर्माण सम्बन्धित स्थानीयको मागको आधारमा हुने हो । यो काम भइ नै रहेको हुन्छ । यसबाहेक के कस्ता क्षेत्रमा कसरी काम गर्न सकिएला भनेर मैले शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा विशेष ध्यान दिएको छु,’ अध्यक्ष तामाङले भने ।

सम्बन्धित समाचार

गोसाईकुण्ड गाउँपालिकाको गज्जव कामः कक्षा ६ देखि १२ सम्म खान, लगाउन, बस्न र पढ्न निःशुल्क

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update