Odapalika - The Fourth Estate - चौथो अंग
धरौटीमा छुटे बनमुद्दा लागेका वडाअध्यक्ष 

रुकुम पश्चिम ।  चौरजहारी नगरपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष तुल्से ओली धरौटीमा रिहा भएका छन् । 

सल्लाका ३५ वटा रूख काटेको आरोपमा पक्राउ परेका वली १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । उनीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो । 

जिल्ला अदालत रुकुमले उनलाई धरौटीमा छाड्ने आदेश गरेलगत्तै उनी तोकिएको धरौटी बुझाएर हिरा भएका हुन् । 

वडाध्यक्ष वलीसहित स्थानीय दिलबहादुर शाह, कुले नेपाली र विशाल केसी पनि धरौटी बुझाएर थुना मुक्त भएका छन् । 

जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको ३५ वटा सल्लोको रूख फडानी गरेको आरोप वडाध्यक्ष ओलीमाथि लागेको थियो । 

तर, वडा कार्यालयका कर्मचारीहरु भने छिटो विकास गर्ने वडाध्यक्ष ओलीको चाहनाको कारण उनी फसेको बताउँछन् । कर्मचारीहरुका अनुसार चौरजहारी नगरपालिकाको वडा नम्बर ११ को टाटाबाट सर्केना हुँदै जोगिनेटासम्म बिद्युत लाइन बिस्तार गर्ने कार्य भइरहेको थियो । विद्युत लाइन विस्तारका लागि वडाध्यक्ष ओलीले सम्बन्धित निकायहरुमा आवश्यक कागजात पेश गरेका पनि थिए । 

तर, सम्बन्धित निकायहरुबाट अनुमति नआउँदै बन फडानी गर्न आदेश दिएको कारण उनी पक्राउ परेका थिए ।

‘टाटाबाट सर्केना हुँदै जोगिनेटासम्म विद्युत लाइन विस्तार गर्ने कार्यक्रम थियो । यसको लागि केही रुख काट्नु पर्ने थियो । रुख काट्नको लागि वडाध्यक्षले सम्बन्धित निकायमा कागजात बुझाउनु भएको पनि हो । तर, ती निकायबाट अनुमति नआउँदै उहाँले रुख काट्न आदेश दिनुभयो ।  हतार नगरी केही समय अनुमति पर्खनु भएको भए उहाँलाई यो अभियोग लाग्ने थिएन,’ चौरजहारी नगरपालिकाको वडा नम्बर ११ का एक कर्मचारीले वडापालिकासँग भने ।वडाध्यक्ष ओली मंगलबार आफै बन कार्यालय पुगेपछि हिरासतमा राखिएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update