Odapalika - The Fourth Estate - चौथो अंग
फिल्डका वडाध्यक्षः उज्यालो ल्याउन बोक्छन् तार, सधै चलाउँछन् बेल्चा–सावेल 

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका जनप्रतिनिधिहरू आफैँ खटेर विद्युतको तार फेर्ने काममा जुटेका छन् । 

वडाध्यक्ष सन्तोष पौडेल लगायतका जनप्रतिनिधि आफैँ खटेर श्रमदान जुटाउँदै गाउँमा तानिएको पुरानो तार फेर्ने काम गरिरहेका छन् । ‘नेपाल विद्युत प्राधिकरणले पहिला नाङ्गो तार तानेको थियो, नाङ्गो तार हुँदा रुखका हाँगाले छोएर बारम्बार लाइन जाने समस्या भएकोले प्लास्टिक कोटेड तार फेर्न लागिएको हो’, उनले भने । 

विद्युत प्राधिकरणको मन्थली वितरण केन्द्रले तार र तार तन्ने प्राविधिक उपलब्ध गराइदिएको र बाँकी काम वडा कार्यालयले नै गरेको पौडेलले बताए । 

पौडेलले भने, ‘प्राधिकरणसँग टाढासम्म तार ढुवानी गर्ने खर्च हुँदो रहेनछ, वडा कार्यालयले ढुवानी साधन व्यवस्था गरेर हामीआफैँ गएर सामान लोड गर्यौँ, वडा कार्यालयमा ल्याएर अनलोड पनि हामी आफैँले गर्यौँ, लोड–अनलोडको काममा म आफैँ खटेँ, अन्य साथीहरू पनि खट्नुभयो ।’

अहिले गाउँमा पुरानो तार फेरेर नयाँ तार तान्ने काम चलिरहेको छ । सैपुको दिलौरी डाँडादेखि फेदीसम्मको मेनलाइनको तार फेर्ने काम भइरहेको पौडेलले बताए । पहिलो चरणमा कुल ६ किलोमिटर दुरीमा ३ फेज अर्थात् १८ किलोमिटर तार फेर्न लागिएको पौडेलले बताए । 

Bidhut -21696238247.jpg

प्राधिकरणले पोलमातार बाँध्ने प्राविधिकउ पलब्ध गराएको भएपनि तार तान्ने धेरै जनशक्ति चाहिने भएकोले तार तान्ने काममा पनि आफू लगायत वडाका जनप्रतिनिधि खटेका पौडेलले बताए ।

‘वडाका सबै जनप्रतिनिधि खटेर गाउँलेहरूलाई जुटाउँदै काम गरिरहेका छौँ’, उनले भने । ज्याला दिएर मान्छे लगाउन वडासँग बजेट नभएको कारण आफैँ खटेर श्रमदान जुटाउँदै काम गरेको उनले बताए । 

उनले भने, ‘ढुवानी गर्ने खर्च जुटाउन त समस्या छ, तार तान्ने मान्छे लगाउने त कुनै खर्चै छैन, त्यसैले श्रमदान जुटाएर काम गरिरहेका छौँ, श्रमदान गर्नेलाई खाजा समेत स्थानीयले खुवाइ रहनुभएको छ ।’

रामेछापको साँघुटार सबस्टेसनबाट सैपुसम्म विद्युत लाइन लगिएको छ । कम्तीमा सबस्टेसनदेखि गाउँसम्मको मेन लाइनको तार फेर्न सकिए गाउँमा नियमित रूपमा विद्युत आपूर्ति हुने पौडेलको विश्वास छ । त्यसैले दोस्रो चरणमा दशैँपछि फेदीदेखि सोही गाउँपालिकाको वडा नं ४ बिजुलीकोटसम्म श्रमदान जुटाएर लाइन तान्ने योजना रहेको उनले सुनाए । 

रामेछापको सो वडाका वडाध्यक्ष पौडेल जिल्लामा सबैभन्दा बढी श्रमदान गर्ने वडाध्यक्षमा पर्दछन् । पौडेल कहिले गल र साबेल बोकेर सडक मर्मत गर्न पुगेका हुन्छन् भने कहिले विद्युतका पोल बोक्न र गाड्न व्यस्त हुन्छन् । 

उनी कहिले विपन्नको घरमा विद्युत जोड्न वायरिङको काममा व्यस्त हुन्छन् । उनी वडा कार्यलयले दिनु पर्ने सिफारिस लिन कार्यालयमा आउन नसक्ने ज्येष्ठ नागरिक र अशक्तको सिफारिस बोकेर घरमा नै पुग्छन् । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update