Odapalika - The Fourth Estate - चौथो अंग
भारतसँगको क्रिकेट खेलमा २३ रनले हार्यो नेपाल

काठमाडौँ । चीतको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल भारतसँग पराजित भएको छ । पुरुष क्रिकेटको क्वाटर फाइनलमा नेपाल  २३ रनले पराजित भएको हो ।

मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १७९ रन जोड्यो । यो नेपाल र भारतबीचको पहिलो टी– २० अन्तर्राष्ट्रिय खेल हो । यसअघि नेपालले एसिया कपमा भारतसँग पहिलो एकदिवसीय खेल खेलेको थियो ।

ओपनरद्वय कुशल भुर्तेल २८ रन र आसिफ शेख १० रनमा आउट भए । कुशल मल्लले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा २९ रन जोडे । यस्तै, रोहित पौडेल ३ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्काको मद्दतमा ३५ रन बनाए । ऐरीले १४ ओभरमा भारतीय बलर शिवम् दुवेलाई लगातार ३ छक्का प्रहार गरेका थिए ।

सोमपाल कामी ७, गुल्सन झा ६ रन र सन्दीप लामिछाने ५ रनमा आउट भए । करण केसीले १३ बलमा नटआउट १८ रन जोडे । उनले १ चौका र २ छक्का प्रहार गरे ।

खेलमा नेपालले भारतविरूद्ध १४ छक्का र ११ चौका प्रहार गर्यो ।

बलिङमा भारतका रवि बिश्नोइ र आवेश खानले ३/३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिन सफल भए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोडेको थियो ।

भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरेका थिए । उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । शतक प्रहार गरे लगत्तै जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए ।

यस्तै रिंकु सिंह ३७ रन र शिवम दुवे २५ बलमा नटआउट रहे ।

भारतका कप्तान ऋतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे । भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको थियो । भारतीय ब्याटर तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गरे भने सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

नेपाल समूह ‘ए’को विजेता हुँदै अन्तिम आठमा पुगेको थियो । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सोझै अन्तिम आठमा पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update