Odapalika - The Fourth Estate - चौथो अंग
५ वर्षदेखि बिमान कुर्दै  बलेवाबासी

बागलुङ । बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन ।

२०२२ सालमा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो । २०४८ सालमा बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो । छब्बीस वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो ।

त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे । धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो । लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि धावनमार्ग कालोपत्र गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आश पलाएको थियो । तर अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरु निराश छन् ।

२०७८ चैतमा विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिएको थियो । धावनमार्ग कालोपत्रसँगै पेन्टिङ र छेउछाउ तारबारसमेत गरिएको छ । धावनमार्ग नागरिक उड्डयन प्राधिकरणको रु सात करोड लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्र गरेको थियो ।

लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नभई जीर्ण बन्ने जोखिम छ । राज्यले चासो नदिँदा करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बनेका स्थानीय कुमार पौडेलले बताए । पछिल्लो समय बलेवा क्षेत्रबाट बसाइँसराइ तीव्ररूपमा भइरहेकाले विमानस्थल सञ्चालनमा आए त्यो क्रम रोकिने पौडेलको भनाइ छ ।

'विमानस्थल सञ्चालन गर्नकै लागि राज्यले यति ठूलो रकम खर्चेको छ, तर जहाड उडानको कुनै टुङ्गो छैन' पाैडेल भन्छन् । बलेवा बजारका रूपमा विकास भएको छ । पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दैछ, तर जहाज नचल्दा यहाँका स्रोतसाधान गुमानाम छन्, यस क्षेत्रका स्रोत र साधानको प्रयोग गरी आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल सञ्चालन गर्न जरुरी छ ।

Balewa Airport11685602987.jpg

बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धवनमार्ग बनेको यतिका समयसम्म विमान सञ्चालन नहुनु दुःखद् भएको बताए । विमानस्थल सञ्चालनका लागि मन्त्री, सांसदहरूसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे। यहाँदखि नियमित विमान सञ्चालनमा आए बलेवावासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका बन्दै रोजगारका अवसर सिर्जना हुने र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनकाे भनाइ छ ।

विमानस्थलबाट २०४८ सालसम्म काठमाडाैँ, पोखरा, भैरहवा र जोमसोमका लागि जहाजले उडान भर्ने गरेको थियो । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का सातामा एकपटक भए पनि उडानको योजना रहेको बताउँछन् । कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ ।

कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उनकाे भनाइ छ । विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update