Odapalika - The Fourth Estate - चौथो अंग
गाई–भैँसीको उपचारः भारतमा भन्दा नेपालमा सस्तो 

काठामाडौँ । सामान्यता गाईभैँसीमा लाग्ने लम्पी स्किन  रोगको उपचारमा कति खर्च भयो भनेर खास तथ्यांक कसैले पनि राख्ने गरेको पाइदैन । 

गाउँघरमा पशु बिरामी हुदा प्राविधिक बोलाएर सामान्य उपचार गराउने बाहेक त्यसको केन्द्रीकृत लेखाजोखा गर्ने चलन छैन । 

तर राज्यको एउटा निकायले भने देशभर गाईभैँसीमा लाग्ने लम्पी स्किनको उपचारमा भएको खर्चको औषत र अनुमानित तथ्यांक राखेर प्रति गाईभैँसीको उपचारमा हुने खर्च र क्षतिको तथ्यांक निकाल्ने  गरेको छ । 

यो तथ्यांकलाई छिमेकी देश भारतसँग तुलना गर्ने हो भने नेपालमा तुलनात्मक रुपमा लम्पी स्किन उपचार सस्तो देखिएको छ । 

मानिस बिरामी पर्दा सस्तो र गुणस्तरीय उपचार हुने भन्दै भारत जाने चलन भएपनि लम्पी स्किनको उपचारमा भने प्राविधिक जनशक्ति अभावकै बीचपनि नेपालमा सस्तोमा उपचार हुने गरेको पाइएको छ । 

नेपाल पशु चिकित्सा परिषदले सबै स्थानीय तह, प्रदेश सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई गराएको जानकारी अनुसार नेपालमा एउटा गाईको उपचार र उपचारका क्रममा मृत्यु भएमा सरदर ४९ हजार १३५ रुपैयाँको क्षति भएको छ । 

तर छिमेकी देश भारतमा भने यसका लागि प्रति गाई ९४ हजार ८३९ र प्रति भैँसी ४३३२९ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । 

परिषदका अनुसार बंगलादेशमा भने निकै कम क्षति भएको देखिएको छ । बंगलादेशमा एउटा गाईको उपचार र हालसम्म भएको क्षतिमा प्रति गाईभैँसी १२ हजार ३२३ रुपैयाँको मात्र आर्थिक क्षति भएको छ । 

इथियोपियामा भने ४२ हजार ९ सय रुपैयाँको क्षति भएको परिषद्को तथ्यांकमा उल्लेख छ । 

नेपालमा लम्पी स्किन संक्रमणको दर २० प्रतिशत छ भने मृत्यु दर ३.८ प्रतिशत छ । 

भारतमा यो दर क्रमशः २४.२ र १२.४ प्रतिशत, बंगलादेशमा क्रमशः ३४ र ३.२ प्रतिशत तथा इथियोपियामा क्रमशः २६ र ४.५ प्रतिशत रहेको परिषदले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update