Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिष्ठान र पत्रकार समूहबीच जलवायु र कुटनीतिका विषयमा सहकार्य हुने 

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको कूटनीतिक ‘थिंक ट्यांक’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नेपाल वातावरण पत्रकार समूहबीच जलवायु परिवर्तन र जलवायु कूटनीतिका विभिन्न विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

वातावरणका राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दा, दिगो विकास, हरित अर्थतन्त्र, जलवायु शरणार्थीजस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा प्रतिष्ठान र नेवापसले सहकार्य गर्ने प्रकृतिका भएकाले समझदारी गरिएको हो ।

समझादारीअनुसार यस्ता विषयमा दुवै संस्थाले बहस, छलफल, अन्र्तक्रिया र शोध अनुसन्धान गर्ने छन् । प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक राजेन्द्र पाण्डे र समूहकी अध्यक्ष रोशनी अधिकारीले समझादारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार प्रतिष्ठानले वातावरणको संरक्षण, सम्बद्र्धन, जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरणसम्बन्धी नीतिनिर्माण प्रक्रियामा समूहलाई संलग्न गराउने छ भने समूहले प्रतिष्ठानको नीतिनिर्माण तथा कार्यान्वयन प्रक्रियामा विशेषज्ञहरूको राय उपलब्ध गराएर वा स्वयं संलग्न रही सहयोग गर्नेछ ।

प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक पाण्डेले जलवायुको मुद्दाबाट कुनै पनि देश टाढा रहन नसक्ने बताउँदै उच्चस्तरीय भ्रमणका क्रममा सरकारले यस्ता विषयलाई भ्रमणको एजेण्डा बनाउनुपर्ने बताए ।

सोही अवसरमा बोल्दै अध्यक्ष अधिकारीले जलवायुको विषय विशुद्ध वातावरणसँग मात्रै जोड्न नमिल्ने उल्लेख गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय अर्थ नीतिमा पनि उत्तिकैै जोडिएको बताइन् ।

कुनै एक संस्था र सरकारको एक्लो पहलले मात्रै वातावरण र जलवायु कूटनीतिका विषयलाई परिणाममुखी बनाउन नसक्ने भएकाले समूह र प्रतिष्ठानबीच सहकार्य सुरु भएको उनको भनाइ थियो ।

सोही अवसरमा नेवापसका उपाध्यक्ष टीका बन्धन, महासचिव सविन शर्मा र सचिव सृष्टि काफ्लेले जलवायु कूटनीतिका विभिन्न विषयमा प्रतिष्ठान र समूहले नियमित छलफल श्रृंखला चलाउने बताए ।

प्रतिष्ठानका स्रोत व्यक्ति मात्रिका पौडेल र सूचना अधिकारी सानुराजा पुरीले दिगो विकास, हरित अर्थतन्त्र, जलवायुका विभिन्न मुद्दाहरुमा दुवै संस्थाका स्रोत व्यक्ति एवं विज्ञहरुको ज्ञान र अनुभवलाई दिगो सहकार्यमा जोड्ने धारणा राखे । 
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update