Odapalika - The Fourth Estate - चौथो अंग
डा. सुनिल सिटौला भन्छन्– अझै ९ दिनसम्म भूकम्पको सम्भावना छ

काठमाडौँ । ज्योतिष डा. सुनिल सिटौलाले अझै ९ दिनसम्म भूकम्पको सम्भावना रहेको बताएका छन् । आज बझाङ केन्द्रविन्दु बनाएर लगातार भूकम्पको धक्का महसुस गरिरहेको समयमा डा. सिटौलाले यस्तो बताएका हुन् ।

आज मंगलबार परेको र मंगल ग्रहले आजदेखि नै आफ्नो स्थान परिवर्तन गरेका कारण भूकम्प जानु स्वभाविक भएको उनको दाबी छ ।

‘आज मंगलबार, आजै मंगल ग्रहले स्थान परिवर्तन गर्दैछन्, आज भूकम्प जानु स्वभाविक नै हो । अझै ९ दिनसम्म भूकम्पको सम्भावना छ,’ डा. सिटौलाले सामाजिक संजाल एक्समा लेखेका छन् ।

sunil X1696334366.JPG

उनी २०७२ सालको गोर्खा भूकम्पको बेलामा पनि भूकम्पकाे भविष्यवाणी गरेर विवादमा आएका व्यक्ति हुन् । सो समयमा समाजमा त्रास फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

आज अपरान्हदेखि बझाङमा भूकम्पले आतंक मच्चाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज २ घण्टाको बीचमा बझाङ केन्द्रविन्दु बनाएर भूकम्पका ४ धक्का रेकर्ड गरिएको छ ।

केन्द्रका अनुसार आज भूकम्पको पहिलो धक्का दिउसो २ बजेर ४० मिनेटमा महसुस गरिएको थियो । सो समयमा ५.३ म्याग्निचुटको भूकम्प मापन गरिएको छ । यस्तै, दिउसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निचुटको भूकम्पको धक्का महसुस गरियो । 

त्यसपछि पनि भूकम्पको धक्का निरन्तर देखिए । केन्द्रको तथ्यांक अनुसार ३ बजेर ४५ मिनेटमा ४.१ म्याग्निचुटको भूकम्पको धक्का महसुस गरियो भने ४ बजेर २८ मिनेट जाँदा ४.१ म्याग्निचुट क्षमताको अर्काे धक्का रेकर्ड गरियो ।

यसअघि गत बैशाख १५ गते र २०७९ साल माघ १० गते बजुरा केन्द्रविन्दु बनाएर ५.९ म्याग्निचुटको भूकम्पको धक्का रेकर्ड गरिएको थियो । पश्चिम नेपाल केन्द्रविन्दु भएर गएका ठूला भूकम्प रेकर्ड भएको यही नै हो ।

भूकम्पले ४ स्थानीय तहमा क्षति पुर्याएको छ । केन्द्रले दिएको जानकारी अनुसार बझाङका दुर्गाथली गाउँपालिका, तलकोट गाउँपालिका, जयपृथ्वी नगरपालिका र खप्तडछान्ना गाउँपालिकामा आजको भूकम्पले क्षति पुर्याएको छ ।

यी स्थानीय तहहरुका सरकारी कार्यालय, सरकारी विद्यालयका भवनहरु तथा सर्वसाधारणको घरमा क्षति पुगेको छ । भूकम्पको कारण जयपृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ भने बझाङको जिल्ला प्रहरी कार्यालयको भवन चर्किएको छ । 

यस्तै, छविसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ को जाले बगरमा २ जना घाइते भएका छन् । तलकोट गाउँपालिका–१ को सुनिकोट माविको भवन र जयपृथ्वी नपा– १० को हिमालय मावि र सत्यवादी माविको भवनमा क्षति पुगेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update