Odapalika - The Fourth Estate - चौथो अंग
बझाङ भूकम्प अपडेट : १ वेपत्ता, १८ जना घाइते,३ सय ३६ भौतिक संरचनामा क्षति  

काठमाडौं । बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको दुई ठूला भूकम्पमा परि १ जना वेपत्ता हुनुको साथै १८ जना घाइते भएका छन् । भूकम्पले हालसम्म २१ वटा सरकारीसहित ३ सय ३६ वटा भौतिक संरचनामा क्षति पुर्याएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । 

उनले भने, ‘पछिल्लो विवरण अनुसार भूकम्पपछि गएको सुख्खा पहिरोमा परी बझाङको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी वेपत्ता हुनुभएको छ । उहाँको खोजीकार्य जारी छ । अरु १८ जना घाइते भएकोमा १० जना उपचारपछि घर फर्किसकेका छन् । दुई जनालाई जिल्ला अस्पतालमा राखेर उपचार भैरहेको छ भने बाँकीलाई हात तथा खुट्टामा लागेको चोटको कारण थप उपचारको लागि जिल्ला बाहिर पठाइएको छ ।’

घाइते हुनेहरुमा जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थडचिर गाउँपालिकाका विद्यार्थी र स्थानीय रहेका छन् । 
मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको आधा घण्टा नपुग्दै ३ बजेर ६ मिनेटमा गएको झन् ठूलो ६.३ म्याग्निच्युडको भूकम्पले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । भूकम्पका कारण घर,सरकारी कार्यालय,विद्यालयका भवनमा क्षति पुग्नाका साथै त्यसपछि गएको सुख्खा पहिरोको कारण राजमार्ग समेत अवरुद्ध भएको छ । 

‘भूकम्पपछि भिरालो जमिनमा गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग मंगलबार राति खुलाइएको थियो,अहिले पुन अवरुद्ध बनेको छ । जयपृथ्वीको माल्लालाग्ना भीर र छबिस पाथीभेराको जालेबगरमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । प्रहरीले पहिरो पन्छाउने कार्य गरिरहेका छन् । राजमार्ग सँगै २१ वटा सरकारी संरचना सहित ३ सय ३६ वटा भौतिक संरचनामा क्षति पुगेको विवरण आएको छ,’ पाण्डेले भने ।   

सुरुको भूकम्पपछि स्थानीय सतर्क भएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको अधिकारीहरुले जनाएका छन् । तर, भूकम्पले छिमेकी जिल्ला बाजुरा, दार्चुला, बैतडि लगायतका जिल्लामा भौतिक क्षति गरेको छ । बाजुराका खप्तड छेडेदह गाउँपालिका, बुढीगंगा र बडीमालिका नगरपालिकालगायत क्षेत्रका थुप्रै घर तथा भवनमा आशिंक र पूर्ण क्षति गरेको बताइएको छ । 

बैतडीमा पनि दुई जना घाइते भएका छन । माथिबाट खसेको ढुंगा लागेर डिलासैनी र सिगास गाउँपालिकामा एक÷एक जना घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पले सिगास, डिलासैनी गाउँपालिका, पुर्चौडी र पाटन नगरपालिकामा दर्जनभन्दा बढी घर र विद्यालयका भवन चर्किएको छ । 

दार्चुलाको मार्मा गाउँपालिकामा वडा कार्यालय, विद्यालय भवनलगायतका संरचनामा  क्षति पुगेको छ । बाजुरा भूकम्प र त्यसपछिको परकम्पका कारण भएको क्षतिको विवरण संकलन,उद्दार र राहत लगायतका कार्य भैरहेको अधिकारीहरुले जनाएका छन् ।  

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update