Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले भन्योः घरको फोहोर बाहिर ननिकाल्नू 

ललितपुर । ललितपुर महानगरपालिकाले केही समयका लागि घरबाट निस्कने फोहोरको व्यवस्थापन गर्न नगरबासीलाई आग्रह गरेको छ । 

महानगरले बुधबार एक सूचना जारी गर्दै केही समयका लागि फोहोरको आन्तरिक व्यवस्थापन गर्न आग्रह गरेको हो । 

यस्तै, महानगरले पछिल्लो समय डेङगु रोगको संक्रमण फैलिएको भन्दै घर, आँगन तथा टोल सफा राख्न अनुरोध समेत गरेको छ । 

‘आ–आफ्नो घरवाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्टाछुट्टै घरभित्र नै विभाजन गरौं र फोहोर लैजाने गाडी नआएसम्म आफ्नो घरवाट फोहोर बाहिर ननिकालौं, उपत्यकाको फोहोर विसर्जन स्थलको समस्याका कारण महानगरपालिका भित्रको फोहोर केही समय आन्तरिक रुपमा व्यवस्थापन गर्नु पर्ने देखिएको छ’, महानगरले जारी गरेको सूचनामा भनिएको छ ।’

महानगरपालिकाले फोहोर व्यवस्थापनमा संलग्न विभिन्न निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई समेत यो काममा सहयोग, समन्वय एवं सहजीकरण गरिदिन अनुरोध समेत गरेको छ ।

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधिको आन्दोलनका कारण काठमाडौं उपत्यकाको फोहोर संकलन रोकिएको छ । 

फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरुले पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकाले भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् । 

बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर जान रोक लगाएपछि महानगरले केही समयका लागि फोहोर आन्तरिक रुपमै व्यवस्थापन गर्न अनुरोध गरेको हो ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update