Odapalika - The Fourth Estate - चौथो अंग
के गर्दै छ गाउँ पसेको नेकपा एस ? 

काठमाडौंँ । समाजवादी जागरण अभियान चलाउँने भन्दै शहरबाट गाउँ छिरेको नेकपा एकीकृत समाजवादी विभिन्न स्थानीय तहसम्म पुगेर पार्टी विस्तार अभियानमा जुटेको छ । 

१४ असोजबाट १५ दिने जागरण अभियानका लागि गाउँ पसेको नेकपा एसले यो अवधिमा ९ सय किलोमिटर जागरण जनअभियान यात्रा गर्ने सो पार्टी प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन् । 

पूर्वको काँकडभिट्टाबाट सुरु भएको पार्टीको अभियान आज जनकपुर आइपुगेको उनको भनाइ छ । 

यस क्रममा विभिन्न स्थानीय तहमा पुगेर आमसभा र पार्टी प्रवेशको कार्यक्रम गरिरहेको उनको भनाइ छ । स्थानीय सभा तथा पार्टीको भ्रातृ संगठन समाजवादी प्रेस संगठनले आयोजना गर्ने पत्रकार सम्मेलनमा नेताहरुले स्थानीयदेखि केन्द्रसम्मको राजनीतिका विषयमा बोलिरहेका छन् । 

यात्राको चौथो दिन आज  धनुषका विभिन्न पालिकामा कायृक्रम राखिएको खतिवडा बताउँछन् । हिजो सप्तरीको छिन्नमस्ता, सिरहाको भगवानपुरलगायतमा कायृक्रम गरेको पाटृिले हालसम्म १२३ वटा कार्यक्रम गरेको जनाएको छ। 

विभिन्न सथानमा हुने कार्यक्रममा अध्यक्ष माधव नेपाल सम्मानित नेता झलनाथ खनाललगायतले सम्वोधन गरिरहेका छन् । 

पार्टीले १५ असोजमा इटहरी, इनरुवा, भारदह, राजविराजलगायतका स्थानमा सभा गरेको छ भने हिजो छिन्नमस्ता, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना गरेको छ । 

आज जनकपुरमा पत्रकार सम्मेलन हुने र त्यसपछि जलेश्वर, ढल्केबर, बर्दिबास र लालबन्दीमा सभा हुनेछ । १८ असोजमा गरुडा, हर्नैया, कलैया र वीरगन्जमा सभा हुनेछ । त्यस्तै १९ असोजमा पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।

असोज २० मा कावासोती, बर्दघाट र परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ। त्यस्तै सैनामैना, चन्द्रौटा, भालुवाङ, लमहीमा २२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा आयोजना हुनेछ ।

अभियानअन्तर्गत २४ असोजमा नेपालगन्ज, खजुरा, मैनापोखरा र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने एकीकृत समाजवादीको कार्यतालिका छ ।

त्यस्तै २६ असोजमा लम्की, सुख्खड, अत्तरिया र धनगढी तथा २७ असोजमा पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा सभा हुनेछ भने २८ असोजमा छिन्चु र २९ गते सुर्खेतमा अभियानअन्तर्गतका सभा आयोजना हुने पार्टीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update