Odapalika - The Fourth Estate - चौथो अंग
दिक्तेल रुपाकोट नगरपालिकामा १४ देशका ४० चित्र 

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारमा आजदेखि ‘मुन्दुम अन्तरर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सुरु भएको छ ।

नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २१ असोजसम्म प्रर्दशनी जारी रहने छ । 

मुन्दुम अन्तरर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामलगायत १४ देशका ४० ख्यातिप्राप्त चित्रकारको सहभागिता रहेको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । 

लाइभ चित्रकला कार्यशाला एवं कला प्रदर्शनी कार्यक्रमअन्तर्गत स्वदेश तथा विदेशका चित्रकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने भट्टराईले जानकारी दिए । 

चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर २० असोजमा दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारका व्यावसायिक कक्ष, सांस्कृतिक झाँकी, नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी छ ।

चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा आउने चित्रकार, अतिथि लगायतलाई स्वागत गर्न दिक्तेल बजारदेखि महुरेगढीसम्मका विभिन्न ठाउँमा स्वागतद्वार तयार पारिएको छ ।

चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई काठमाडौँ आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको नगर प्रमुख भट्टराईले जानकारी दिए ।

dddddddddddd1696416199.jpg

खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि दशवटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको हो । 

 प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलिको परिचय तथा पर्यटकीय महत्वसहितका तस्वीर प्राथमिकीकरण र छनोट गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update