Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षामा खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका २६ योजना, अधिकांश अधुरै 

काठमाडौँ । भौगोलिक र विकासका दृष्टिले पछि परेका मुगुका स्थानीय तहहरुले विद्यालय शिक्षा सुधारका लागि आकर्षक कार्यक्रम अघि सारेपनि कार्यान्वयनमा चासो नदेखाउँदा धेरैजसको योजना अलपत्र परेका छन् । 

मुगुको खत्याड गाउँपालिकाले चालु शैक्षिक सत्रका लागि विद्यालय र शैक्षिक सुधारका लागि १५ भन्दा वढी योजना र नीति बनाएको छ । जसमा स्थानयि पाठ्यपुस्तक अध्यापन गराउनेदेखि बहु प्राविधिक विद्यालय सञ्चालनसम्मका योजना छन् । तर आर्थिक वर्ष सुरु भएको ३ महिना वितिसक्दा पनि नीति कार्यान्वयनको खास पहल पालिकाले गर्न सकेका छैनन् । 

खत्याड गाउँपालिकाले स्थानीय पाठ्यक्रम हाम्रो खत्याड तयार भइसकेको भन्दै चालु आर्थिक वर्षमा पाठ्यपुस्तक बनाउने नीति बजेट तथा कार्यक्रममार्फत ल्यायो । तर अहिलेसम्म पाठ्यपुस्तक लेखनको प्रक्रिया अघि नबढ्दा आगामी बैशाखमा पनि विद्यार्थीका हातमा स्थानीय पाठ्यपुस्तक नपुग्ने पक्का जस्तै देखिएको छ । 

उसले विद्यार्थी ड्रपआउट रोक्न विशेष प्याकेज संचालन  गर्ने, विषयगत शिक्षकहरुको अभिलेख बनाएर शैक्षिक विकासमा उनीहरुको योगदानको उपयोग गर्ने, विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपातमा दरवन्दी मिलान गर्ने नीति यसवर्ष अघि सारेको छ ।अपांगतामैत्री विद्यालय भवन बनाउन बजेट दिने भनेपनि सो अनुसार विद्यालयका लागि बजेट बिनियोजन भने गरिएको छैन । 

मासिक रुपमा शिक्षकको पारिश्रमिक भुक्तानी गर्ने महत्वाकांक्षी निर्णय कार्यान्वयनको आधार पनि पालिकाले अहिलेसम्म तय नगरेको स्थानीय शिक्षकहरु बताउँछन् । 

पालिकाले चालु आर्थिक वर्षमा साक्षर गाउँपालिका घोषणा गर्न विशेष कार्यक्रम संचालन गर्दै छ । यसका लागि शुन्य दरबन्दी भएका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना वढाउने र पालिकाको अनुदानमा शिक्षक व्यवस्था गर्ने पालिकाको योजना छ । 

विद्यालयका कर्मचारी र वालविसका केन्द्रका सजहकर्तालाई पालिकाले थप गरेर पारिश्रमिक दिने कार्यलाई निरन्तरता दिने भनिएको छ भने विद्यालयमा हरेक ३ महिनामा कक्षगत रुपमै शिक्षक अभिभावक र विद्यार्थीबीच अन्तकृया गर्ने भनिएको छ । तर पहिलो ३ महिना यस्तो कार्यक्रम नै नगरी सकिएको छ । 

उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान र पुरस्कार दिने, नवप्रवेशी स्थायी शिक्षकलाई सेवा प्रवेश तालिम पालिकाले दिने, पालिकालाई २ शैक्षिक क्लष्टरमा विभाजन गरेर शैक्षिक श्रोत केन्द्र स्थापना गर्ने, पालिकाभित्र बहुप्राविधिक विद्यालय स्थापनाको पहल गर्ने, छात्रवृत्ति कोटा वढाउने, पालिकाभित्र उच्च शिक्षा दिन खोलिएको चतुर्देव हिरा सुरेन्द्र पूर्ण क्याम्पसको स्तरोन्नति गरी शैक्षिक केन्द्रका रुपमा विकास गर्ने जस्ता योजना कार्यान्वयनका लागिसमेत ठोस कार्यक्रम अझै बनिनसकेको पालिकाले जनाएको छ । 

उता मुगुकै मुगुम कार्मारोङ गाउँपालिकाले विद्यालय शिक्षा र शैक्षिक स्तरोन्नतिका लागि विभिन्न ११ नीति यस वर्ष अघि सारेको छ । 

उत्प्रेरित शिक्षक, जागरुक अभिभावक कार्यक्रम संचालन गरिने, वडा नं ३ ताखामा सञ्चालित आवासीय विद्यालयलाई माध्यमिक विद्यालयको रुपमा विस्तार गरी प्रभावकारी सञ्चालन र व्यवस्थापनको लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उसको नीति तथा कार्यक्रममा उल्लेख छ । 

गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुमा शैक्षिक गुणस्तर सुनिश्चितताको लागि शिक्षक–कर्मचारी क्षमता विकास तथा विभिन्न तहको अनुगमन संयन्त्रलाई क्रियाशील बनाउन आवश्यक कार्यक्रम तर्जुमा गरिने भनिएपनि अहिलेसम्म यस्ता कार्यक्रमका विषयमा कार्यपालिका र गाउँसभामा थप छलफल नभएको जनप्रतिनिधिहरु बताउँछन् । 

राष्ट्रियस्तरमा प्रथामिकता प्राप्त शैक्षिक कार्यक्रमहरुको प्रभावकारी कार्यान्वन गरिने भन्दै पालिकाले गरिब तथा जेहन्दार विधार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिने भनेको छ । 

शिक्षक तथा विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धि तालिमको व्यवस्था गरिने भनिएपनि यसको पनि कार्यान्वयन सुरु भएको छैन । 

गाउँपालिका क्षेत्रभित्रको शैक्षिक तथ्यांकलाई अध्यावधिक तथा विधुतीय प्रणालीबाट सार्वजनिक गरी सुचनामा सबैको सहज पहुँच सुनिश्चित गरिने, गाउँपालिकाको एक मात्र नमुना विद्यालय बुद्ध मावि, मांग्रीमा रहेको नमुना विद्यालयको भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिनेजस्ता कार्यक्रम सो पालिकाले अघि सारेको छ । 

आवासीय विद्यालय लगायत अन्य सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएकाले यी काम चाँडै सुरु हुने पालिकाले जनाएको छ । 

शैक्षिक गुणस्तर वृद्धिका लागि पालिका र वडास्तरीय अनुगमन संयन्त्रलाई प्रभाकारी र नियामित बनाइने भन्दै पालिकाले विद्यालय शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update