Odapalika - The Fourth Estate - चौथो अंग
बाँझो फोडेर तरकारी फलाउँदै छन् मुगुम कार्मारोङ गाउँपालिकाका कृषक 

मुगु । हिमाली जिल्ला मुगुको अति दुर्गम मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ९ पापु र चिमाथको छाईलमा लामो समयदेखि बाँझो रहेको जग्गामा मनग्य तरकारी फलाउन थालिएको छ ।

स्थानीय बासिन्दाले बाँझो जमिन प्रयोग गरी तरकारी उत्पादन गरेर लाखौं रुपैयाँ कमाउन सफल भएका छन् ।

कर्णाली प्रदेश सरकारको नवप्रवर्तन साझोदारी, स्थानीय सरकार, सहकारी र छायाँ नेपालको पहलमा बाँझो जमिनमा तरकारी खेती गर्दा पहिलो बर्ष नै लाखौं आम्दान भएको स्थानीयले बताएका छन् ।

मुगु नदीको किनारमा रहेको रहेको २५६ स्क्यायर मिटर बाँझो जमिनलाई प्रयोगमा ल्याएर गाउँपालिकामा रहेका नागरिकहरुको आय आर्जन बढाउने उद्देश्यले खेती गरिएको हो ।

स्थानीय रैथाने बाली संरक्षण गर्नुका साथै सामूहिक तरकारी खेती गर्दा पहिलो वर्षमा नै राम्रो उत्पादन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।

बन्दाकोबी, टमाटर, बेसार, अदुवा, प्याज, तितेकरेला जस्ता उत्पादन स्थानीयले गरिरहेका छन् । महिला कृषि सहकारी मार्फत तरकारी खेती सञ्चालन भइरहेको छ ।

९ वटा समूहमा रहेका महिलाहरुले बाँझो जमिन प्रयोगमा ल्याएर अनुकरणीय काम गरेका छन् । उत्पादन गरिएको तरकारी सामूहिक रुपमा बिक्री गरी सहकारीको आम्दानीमा राखिन्छ । 

सहकारीमार्फत महिलाहरुको आय आर्जन बृद्घि गरी पर्यटनको विकास गर्ने क्षमता बिकास, सिकाई भ्रमण, समूहलाई तरकारीको बिउ बिजन दिनुका साथै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथै तरकारी खेती गरिएको छाँया नेपाल मुगुका कार्यकारी निदेशक मिनबहादुर रावलले बताए ।

नदी किनारको उक्त जमिन पापु र छाईलका गाउँलेको बिवादका कारण लामो समयदेखि खाली र बाँझो थियो । तर अब भने उपयोग हुन थालेपछि गाउँले उत्साहित बनेका छन् ।

आउँदा दिनमा कर्णाली प्रदेश सरकार र छाँया नेपालको सहयोग निरन्तर नभए पनि स्थानीय सरकारबाट निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्र्ने लामाले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update