Odapalika - The Fourth Estate - चौथो अंग
ओगटन खाएर मिथिलामा सुरू भयो खरजितिया 

जनकपुर । आज सन्तानवती मिथिलाका नारीले कठोर विधिको जितिया पर्वको निराहार व्रत बस्दैछन् । 

असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका छन् । असोज कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत विधि कठोर मानिन्छ ।

बितेको मध्यरात अघि ‘ओगटन’ (दर) खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् ।

हिन्दु मैथिल परम्परा अनुसार सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने गर्दटन् । 

व्रत सुरु गर्नअघि बर्तालुले दही, चिउरा र अमोट (जमाएर राखिएको पाकेको आँपको रस) खाएर ‘ओगटन’ विधि गर्ने गर्दछन् । 

मधेसको प्राचीन मिथिला क्षेत्रमा सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी पितृपक्ष प्रारम्भसँगै सुरु हुन्छ । 

यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुन्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । 

व्रत अवधिभरि एउटा सानो त्यान्द्रो झार पनि नटेकियोस् र क्षति नपुगोस् भन्ने सचेतता यो पर्वमा अपनाइन्छ । त्यसैले यो पर्वलाई ‘खरजितिया’ पनि भनिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update