Odapalika - The Fourth Estate - चौथो अंग
आफैँ मुस्काउ मुसुक्क...

काठमाडौँ । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।

‘सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन ?’  विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्छिन् , ‘उसो भए मुस्कुराइरहनुहोस् नसके पनि कोसिस गर्नुहोस् ।’

मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । उहाँका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ ।

‘मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी’, मनोविद् बिजुक्छे भन्छिन्, ‘मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो ।’

मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ । मुस्कानले आत्मविश्वास बढाउँछ । 

कसरी मुस्कुराइरहने ?

कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने मनोविद् बिजुक्छे बताउँछिन् । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उनको सुझाव छ ।

‘खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति हुनुहुन्छ । हाँसो उठ्दैन भने पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्छ । मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्ग्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौँ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ । त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ । मुखको मांशपेशीलाई तन्काएर भए पनि मुस्काउने वा हाँस्ने अभ्यासले बानीको विकास गर्छ,’ उनी भन्छिन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update