Odapalika - The Fourth Estate - चौथो अंग
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने 

चितवन । भरतपुर महानगरपालिकाले नगर विकासका लागि आवश्यक रकम जुटाउन लगानी सम्मेलन गर्ने भएको छ । 

महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार, वागमती प्रदेश सरकार र नीजि क्षेत्रको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको छ । 

यसका लागि चालुु आर्थिक वर्षको बजेटमार्फत महानगरले २० लाख रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ ।  ‘संघ तथा बागमती प्रदेश सरकार एवं निजी क्षेत्रको सहकार्यमार्फत लगानी सम्मेलन आयोजना गर्नका लागि रु २० लाख बजेट बिनियोजन गरिएको छ,’ भरतपुर महानगरपालिकाको बजेटको बुँदा नम्बर ४६ मा भनिएको छ । 

सामाजिक उत्थानका लागि ४७ लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका स्थानीय तहको शिक्षा, स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रको ज्ञान र अनुभव आदानप्रदानका लागि समेत नगरको बजेट खर्च गर्ने भएको छ । यसका लागि महानगरले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

ऋण तिर्न १ करोड, सीसी क्यामेरालाई २ करोड ९० लाख 

महानगरपालिकाले नगर विकास कोषबाट लिएको ऋणको साँवा र व्याज तिर्नका लागि चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ छुट्याएको छ । 

त्यसैगरी महानगरपालिका क्षेत्रमा सीसी टिभी जडान गर्न २ करोड ९० लाख रुपैयाँ बजेट छुट्याइएको महानगरले जनाएको छ । 

महानगरपालिकाले जनप्रतिनिधिहरुको क्षमता विकासमा समेत यसपटक मोटो रकम खर्च गर्ने भएको छ । यसका लागि तालिम, सार्वजनिक सुनुवाइ, पुर्नताजगीलगायतका शीर्षक राखेर ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । 

महानगरपालिकाले हरेक वडामा ज्येष्ठ नागरिक विश्रमास्थल बनाउने भन्दै २ करोड बजेट छुट्याएको छ भने विपत जोखिम न्यूनीकरणका लागि ५५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । महानगरले ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट पारित गरेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update