Odapalika - The Fourth Estate - चौथो अंग
गोदावरी नगरपालिकाको छम्पीका भूमिहीनलाई निस्सा वितरण 

ललितपुर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । 

आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो । समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका साथै गोदावरी–३, ७ र १२ का भूमिहीनलाई निस्सा वितरण गरिसकेको छ ।

निस्सा वितरण गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेको बताए । 

पहिलोपटक विपी कोइराला नेतृत्वको निर्वाचित सरकारले भूमिसुधार लागू गरेको उल्लेख गर्दै नेता राणाले तीन–चारपटक भूमि सुधार नीति अगाडि बडेको तर्क गरे  । 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए । भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरेले आयोगले सक्रियताका साथ काम गरिरहेको उल्लेख गर्दै पहिले सुकुम्बासी पहिचान गर्ने र प्रमाणित भएपछि स्थानीय तहले उपलब्ध गराएको स्थानमा जग्गाधनी पुर्जा वितरण गरिने बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update