Odapalika - The Fourth Estate - चौथो अंग
कालिगण्डकी गाउँपालिका जहाँ किसानसँगै विद्यालयले पनि गर्छ व्यवसायिक फूलखेती

काठमाडौँ । स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिकाले व्यवसायिक फूलखेतीमा अनुकरणीय काम गरेको छ । किसानलाई आकर्षित गर्न गाउँपालिकाले अनुदान दिन थालेपछि कालिगण्डकीको व्यवसायिक फूलखेतीले तरक्की गरेको हो ।

गाउँपालिकाभित्रका ग्रामीण क्षेत्रमा पनि बाहिरबाट फूल खरिद गर्नुपर्ने अवस्था आउन थालेपछि गाउँपालिकाले नै अनुदान दिएर व्यवसायिक रुपमा फूलखेतीको प्रवद्र्धन गर्न लागेको अध्यक्ष खिमबहादुर थापाले बताए ।

‘तिहार जस्ता चाडपर्वमा ग्रामीण क्षेत्रमा पनि फूल नपाउने अवस्था हुन थाल्यो । यो त ठिक भएन भनेर ३ वर्षअघिदेखि गाउँपालिकाबाट अनुदान दिएर व्यवसायिक रुपमा फूलखेती गराउने कार्यक्रम अघि सारियो । यो कार्यक्रमले राम्रो नतिजा ल्याएको छ । अहिले हाम्रो गाउँपालिकामा उत्पादन भएको फूल ५ वटा प्रदेशमा विक्री वितरण हुने गरेको छ,’ अध्यक्ष थापाले वडापालिकासँग भने ।

थापा यसअघिको कार्यकालमा पनि सो गाउँपालिकाको अध्यक्ष थिए ।

व्यवसायिक फूलखेती गर्नको लागि कम्तिमा पनि २ रोपनी जग्गामा खेती गर्नुपर्ने नियम बनाइएको छ । गाउँपालिकाका विभिन्न वडामा समूह, सहकारी तथा व्यक्तिले व्यवसायिक रुपमा फूलखेती गरिरहेका छन् । अहिले सो गाउँपालिकाभित्र करिब ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती भएको अध्यक्ष थापाले जानकारी दिए ।

गाउँपालिकाभित्र फूलखेती गर्न इच्छुकलाई उत्पादनका आधारमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने गरिएको छ । अहिले करिब १६ स्थानमा व्यवसायिक फूलखेती हुने गरेको छ ।

किसानले सुरुमै फूलखेती गर्ने जोखिम उठाउन चाहेका थिएनन् । त्यसैले गाउँपालिका आफैले खेती गरेर यसको सुरुवात गरेको थियो ।

‘सुरुमै किसानले पत्याउने कुरा भएन । हामीले गाउँपालिकाको ड्रागन बगैचाको २३ रोपनीमध्ये करिब ६ रोपनी जग्गामा व्यवसायिक फूलखेती गरेर देखायौं । र, होमस्टे पनि चलाउने एकजना किसानको जमिन भाडामा लिएर पनि खेती गरियो । पहिलो वर्ष गाउँपालिकाले करिब ८ रोपनी जमिनमा व्यवसायिक फूलखेती गर्याे । त्यसपछि किसान पनि व्यवसायिक फूलखेती गर्न तयार भए,’ अध्यक्ष थापाले भने ।

गाउँपालिकाले फूलको तिहार लक्षित कार्यक्रम संचालन गरेको छ । तिहारमा फूलको खपत बढी हुने भएकोले यस्तो कार्यक्रम संचालन गरिएको अध्यक्ष थापाले बताए । 

‘गाउँपालिकाले व्यवसायिक फूलखेतीको लागि प्रतिरोपनी ९ हजार रुपैयाँका दरले अनुदान दिन्छ । फूलखेती गर्नको लागि लागत कम पर्ने रहेछ भने मेहेनत पनि कम लाग्ने रहेछ । समुदायले नर्सरी राख्छन् । त्यहाँबाट विरुवा तयार हुन्छ । यहाँ अमेरिकन मेरिगोल्ड जातको सयपत्री फूलको खेती बढी हुने गरेको छ,’ अध्यक्ष थापाले भने ।

सो गाउँपालिकाबाट गतवर्ष करिब १९ लाख रुपैयाँ बराबरको फूल विक्री भएको थियो । पोहोरको भन्दा यसपाली बढी जग्गामा खेती भएको छ । एक पटक लगाएको फूल पहिलो पटक तिहारमा त्यसपछि थप २ पटक गरेर चैत बैशाखसम्म नै फूल्ने गरेको उनले बताए ।

कालिगण्डकी गाउँपालिकामा उत्पादन भएको फूल स्थानीय बजारसहित पोखरा, बुटवल, नारायणगढ, काठमाडौँ, दाङ, सुर्खेतलगायतका बजारसम्म पुग्ने गरेको छ । विगतमा फूल लिएका व्यक्ति तथा संस्थाहरुले नै यसपालि पनि फूलको माग गर्ने गरेका कारण बजारको समस्यामा नभएको उनको भनाइ छ ।

विद्यालयले पनि गर्छ व्यवसायिक फूलखेती

स्याङ्जाको ध्रुवज्योति मावि रानीखर्कले विगत केही वर्षयता व्यवसायिक फूलखेती गरिरहेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यवसायिक ज्ञान दिनको लागि फूलखेती गरिएको माविका प्रधानाध्यापक हिराबहादुर गाहाले जानकारी दिए । यद्यपि, सो विद्यालयले व्यवसायिक फूलखेती सुरुगर्नु अघि तरकारी खेती गर्ने गरेको थियो ।

‘पहिला हामीले एक विद्यार्थी एक तरकारी कार्यक्रम सुरु गरेका थियौं । यो कार्यक्रममा पनि विद्यार्थीले व्यवसायिक रुपमा तरकारी खेती गर्नुपर्ने नियम थियो । अहिले विद्यालयको करिब ३ रोपनी जग्गामा विद्यार्थीलाई व्यवसायिक फूलखेती गराउने गरेका छौं,’ प्रधानाध्यापक गाहाले वडापालिकासँग भने ।

dhrub-jyoti-mabi-fool1696592342.jpg

यो कार्यक्रम अन्तरगत विद्यालयले नै मल तथा विउ ल्याइदिने गरेको छ । प्राविधिक सहयोग भने गाउँपालिकाले गरिदिन्छ । गत वर्षसम्म गाउँपालिकाले व्यवसायिक फूलखेतीको लागि विद्यालयलाई पनि अनुदान दिने गरेको थियो । तर, यसपालीदेखि विद्यालयलाई अनुदान दिन रोकिएको छ । सो ३ रोपनी जग्गामा फूलखेती गर्नको लागि करिब १० हजार रुपैयाँ लगानी लाग्छ । सो रकमको व्यवस्था पनि विद्यालयले नै गरिदिन्छ । तर, फूल विक्री गरेर आएको आम्दानी भने विद्यार्थीको हुन्छ ।

‘यसपाली विद्यार्थीले करिब २ लाख रुपैयाँ बराबरको फूल विक्री गर्छन् । विरुवा लगाउनेदेखि, गोडमेल गर्ने, फूल टिप्ने र विक्रीमा पनि विद्यार्थीको नै सहभागिता हुन्छ । यसले विद्यार्थीमा व्यवहारिक ज्ञान विकास हुन्छ,’ प्रधानाध्यापक गाहा भन्छन् ।

गाउँपालिकाले ३ वर्षअघि फूलबारी कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम संचालन गर्नको लागि ध्रुवज्योति माविले पनि व्यवसायिक फूलखेती सुरु गरेको हो । सो विद्यालय प्राङगणमा अमेरिकन मेरिगोल्ड, सन ओरेन्ज, सन गोल्ड, सन एलो जातका सयपत्री फूलको व्यवसायिक खेती हुने गरेको छ ।

विद्यालयले व्यवसायिक फूलखेतीमा विद्यार्थीलाई संलग्न गराएर व्यवहारिक ज्ञान प्रदानमा ठूलो भूमिका खेलेको कालिगण्डकी गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष सुन्दरप्रसाद अधिकारी बताउँछन् । सो विद्यालय वडा नम्बर ६ मा नै पर्छ । सो विद्यालयले अनुकरणीय काम गरेको वडाध्यक्ष अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update