Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारले पनि नदेखेको एउटा गाउँ जहाँबाट मान्छेसँगै गुम्बा पनि सर्दैछ बसाइँ

हुम्ला । ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाएपनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्युनतम आधारभूत सेवाको अभावमा बसाईं सर्न बाध्य छन् । 

जलवायु परिवर्तजन्य समस्या र त्यस्ता समस्या खेप्न बाध्य नागरिकलाई सरकारले विशेष सहुलियत प्रदान गर्न नसक्दा अहिले हिमाली क्षेत्रका बस्तीहरु रित्तिन थालेका हुन् । 

कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो छ । २०५५ सालमा ६५ घरधुरी रहेको जाङका स्थानीयहरु बसाईं सरेर अन्यत्र गए । 

अहिले गाउँमा ३ परिवारको मात्रै बस्छन् । उनीहरु पनि बसाईं सराईका लागि तयारी गर्दैछन्  । बाटो माथि र तल दन्तलहर जसरी ढुंगाले कुँदिएका घरहरुमा ताल्चा लागेको छ । खेतीयोग्य फाँटहरु बाँझो छन् । 

अन्न बालीको लागि उर्वर जाँङका अधिकांश खेतीयोग्य जमिन घाँसले ढाकिएको छ । घाँसे मैदानको बीचमा काम गर्दै गरेका स्थानीय मिङमा थिङ्ले तामाङ प्रश्न गर्छन्, ‘गाउँमा मान्छे नै नभएपछि खेती कसरी हुन्छ ?’

halji-gaun (1)1696593377.jpg

उनी भन्छन्, ‘खेतमा ‘उवा’ (हिमाली जाँै) नहालेपछि केही हुँदैन । बीउ नहालेपछि केही हुँदैन । म एक्लै छु ।  खेत जोत्ने मान्छे छैन । खेत छ तर सबै घाँसै घास । नजोतेपछि के हुन्छ ।’ उनका अनुसार गाउँका सबैजसो काठमाडौं बसाई सरिसकेका छन् । 

अर्का स्थानीयको गुनासो पनि मिङमा थिङलेले भन्दा फरक छैन । ‘गाउँमा मान्छे नै नभएपछि खेती कसरी हुन्छ ?  सबै घरहरु रित्तो छ । हामी ३ घर मात्रै छौँ । हामी पनि कहिले कता जाने भनेर बसिरहेका छौँ,’ उनी भन्छन् । 

बस्तीबीच ठडिएका बन्द घरहरुलाई देखाउँदै उनले भने, ‘बस्ती सरिसक्यो । गाउँमा रहेको गुम्बा सार्ने सल्लाह गर्न मान्छेहरु आएका छन् । धर्मशालामा मिटिङ छ । मान्छेहरु त्यहीँ भेटिन्छन्,’ हिउँदमा घोडालाई खुवाउने घाँस उखेल्न व्यस्त भएका उनको अनुहारमा बस्ती खाली हुँदाको दिग्दारी प्रस्ट देखिन्थ्यो । ‘गाउँ त राम्रै छ । तर सबै काठमाडौँ गइसके ।’

अनकन्टार स्थानमा सम्पर्कका लागि न सञ्चार त छैन नै, सवारी साधनको पहुँच देखि  स्वास्थ्यउपचारको सुविधाबाट समेत बञ्चित छ गाउँ । 

गुम्बा व्यवस्थापनका लागि आयोजना गरिएको बैठकमा सहभागी हुन जाङ पुगेका स्थानीय कुन्चोक पेम्बा लामा सरकारले हिमाली क्षेत्रका जनतालाई नहेरेका कारण बसाई सर्न बाध्य भएको दुखेसो गरे । 

halji-gaun (3)1696593383.jpg

उनले भने,  ‘समस्यै समस्या छ । न यहाँ स्वास्थ्य चौकी छ । बिरामी भएपछि हेलिकोप्टर हायर गर्नुप¥यो भने २० लाखसम्म खर्च हुन्छ । त्यो गाउँलेले तिर्न सक्दैनन् । आधारभूत विद्यालयपनि अहिले खाली भइसकेको छ ।’

यहाँका स्थानीयहरुले उपचारका लागि पनि चीनको ताक्लाकोट जानुपर्छ । तर चिनियालाई जत्ति सहज आवतजावत छैन उनीहरुको । 

‘चिनिया नेपाली सीमाभित्र मनपरि छिर्छन् तर हामीलाई छिर्न कडाई गरिन्छ । हाम्रै प्रशासनले हामीलाई कडाई गर्छ । सीमा पास लिन गाह्रो छ,’ उनी भन्छन् ।

स्थानीय तम्जी पेमा लामा सरकारले नहेरेपछि आफूहरु बसाई सर्न बाध्य भएको बताउँछन् । ‘पहिला ६०–६५ घरहरु थिए । मान्छे पनि धेरै । पहिले हिउँदमा चौरीहरु तिब्बतमा चर्न जान्थे तर विस्तारे हराउने समस्या भएपछि प्रशासनले समेत आफ्नै भुगोलमा चराउन ठाउँ दिन्छु भनेर दिएन । त्यही भएर हामीले च्याङग्रााहरु, याकहरु बेच्यौँ,’ लामा भन्छन् ।

मुलुकको राजनीतिक अस्थिरताप्रति जानकार उनले कुनैपनि सरकारले लिमीवासीको समस्या सम्बोधन नगरेको गुनासो गरे ।

लिमीमा कुनैपनि राजनैतिक दलको संगठन छैन । स्थानीय सरकारको नेतृत्वमा स्वतन्त्र उम्मेदवार आएका छन् । तर राजनीतिक स्थिरता भने उनीहरु पनि चाहन्छन् । 

लामा भन्छन् ‘ जुन सरकार आएपनि हामीलाई हेरेको छैन । सरकार त नयाँनयाँ आउँछ । घरको परिवार एकजना बिरामी भयो भने हेलिकप्टर ल्याउँदा १४–१५ लाख जान्छ ।’ 

कुनैबेला ६५ परिवारले गुल्जार गाउँमा अहिले जम्मा ३ घरधुरी बाँकी भएपछि उनीहरु यतिवेला गाउँमा भएको गुम्बा पनि सार्ने निर्णयमा पुगेका छन् । 

काठमाडौँको सुन्दरीजलस्थित गुम्बामा नै यहाँको गुम्बा पनि सार्ने निर्णय गरेर सामान सार्ने तयारीमा लागेको उनको भनाइ छ । 

हाल्जी र तीलपनि छैन सन्तुष्ट 

नेपालकै सबै भन्दा ठूलो गाउँपालिका नाम्खाको वडा नम्बर ६ अन्र्तगतका तीनवटा गाउँ मध्येको एउटा गाउँ जाङ रित्तो भएपछि त्यसको झण्डै १० र १५ किलोमिटर दूरीमा रहेका हल्जी र तील गाउँमा पनि बसाईंसराईको प्रभाव पर्नसक्ने खतरा बढेको छ ।  

वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ हिमाली क्षेत्रको बसाई सराई सुईटर फुकाले जस्तै हुने र एउटाले फुकालेपछि अर्काले पनि फुकाल्ने भएकाले अन्य दुई गाउँमा पनि यसको प्रभाव पर्न सक्ने खतरा अाैल्याउँछन् ।

halji-gaun (4)1696593383.jpg

‘यो चाईना सिमानामा छ । लिमी लाप्चाको नाकामा हामी बसिरहेका छौ ।  न यहाँ कुनै सुरक्षा निकाय छ । यहाँको सिमा सुरक्षा लिमिवासीले मात्रै गरेका छन् । जाँङबासीहरु तल जान थालेको छ । यिनीहरु गयोभने तीलगाउँको पनि जाला । त्यसपछि हाम्रो हल्जीको पनि जाला । यो विषयमा संघ र प्रदेश सरकारले विशेष हेर्नुपर्ने देखिन्छ,’ उनले भने ।’

आर्थिक उपार्जनको बलियो आधारसँगै, स्वास्थ्य, शिक्षा र यातायात पुर्वाधारको सहज व्यवस्था नगर्ने हो भने हिमाली क्षेत्रको बसाईसराईलाई नियन्त्रण गर्न सजह देखिँदैन ।

halji-gaun (5)1696593386.jpg

चीनको सबै भन्दा नजिकको सीमा लाप्चामा कुनैपनि सुरक्षा संयन्त्र छैन । सिमिकोट देखि झण्डै १ सय ५ किलोमिटरको दुरीमा कुनैपनि सुरक्षा निकायको उपस्थिति छैन । जाँङ र हल्जीको बीचमा नेपाल प्रहरीको सुरक्षा चेक पोष्ट छ । जसले न त सिमा सुरक्षामा प्रभावकारी उपस्थिति जनाउन सकेको छ न त गाउँलेको सुरक्षामा भुमिका निर्वाह गर्न सकेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update