Odapalika - The Fourth Estate - चौथो अंग
नेपालबाट बाहिरिन थाल्यो मौसम, ३ प्रदेशमा मात्र पानी पर्ने सम्भावना

काठमाडौँ । नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो । 

जल तथा मौसम विान विभागका अनुसार विस्तारै यो क्रम देशभर चल्नेछ । शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने विभागले बताएको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । यो वर्ष पनि केही दिन ढिलोबाट मनसुन बाहिरिन सुरु भएको हो । 

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा छ ।

कोशी, मधेश, बागमती र  लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update