Odapalika - The Fourth Estate - चौथो अंग
अंकबिनै विश्वासको मत सामना गर्दै कोशीका मुख्यमन्त्री, सकिदैछ संवैधानिक विकल्प 

काठमाडौँ । महिनै पिच्छेजसो सरकार परिवर्तन भइरहने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मतको सामना गर्दैछन् । 

प्रदेशसभामा सबैभन्दा ठूलो दल भएपनि उनका लागि संसदको विश्वास जित्न १ मत पुग्दैन । राप्रपाको साथ रहेको कार्कीलाई संघीय सत्ता गठवन्धन आवद्ध दलहरुले असहयोग गर्ने वताइसकेका छन् । 

कार्कीको पक्षमा एमाले र राप्रपा हुँदा विपषमा माओवादी, कांग्रेस, जसपालगायतका अन्य सबै दल छन् । जसका कारण आज कार्कीले चमत्कार भएमात्र संसदको विश्वास जित्नेछन् । 

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग कूल ४० सांसद छन् । तर, उपसभामुख सृजना दनुवारले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्नेछ । १६ साउनमा उद्धव थापा दोस्रोपटक मुख्यमन्न्त्री नियुक्त हुने बेलामा सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए । त्यसयता प्रदेशसभा सभामुखविहीन छ ।

सभामुखविहीन प्रदेशसभा बैठकको अध्यक्षता गर्ने उपसभामुखले मत बराबरी भएको अवस्था बाहेक मतदान गर्न नपाउने संवैधानिक व्यवस्था छ । संविधानको यही प्रावधान मिचेर  संघीय सत्ता गठबन्धन आवद्ध दलहरुले प्रदेशमा २ पटक सरकार बनाएपछि त्यसविरुद्ध परेको रिटमा सुनुवाई गर्दै  सभाध्यक्षको भूमिकाको व्याख्या मात्र गरेन, मतदान गर्ने कायृ वदर पनि गरेको थियो । 

सर्वोच्चको फैसलाका कारण उपसभामुखले मत दिन नपाउँदा एमालेको एक मत घट्ने छ भने २९ सिट भएको काँग्रेस, १३ सिटको माओवादी, ४ सिट भएको एकीकृत समाजवादी र एक सांसद रहेको जसपा मुख्यमन्त्रीको विपक्षमा उभिनेछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । राप्रपाको ७ मत पाएपनि यस्तो अवस्थामा कार्कीको पक्षमा बहुमत सांसद पुग्दैनन् । 

उनले आज सांसदको विश्वास जित्न सकेनन् भने संविधानअनुसार कोशी सरकार बनाउने एउटा र अन्तिम विकल्प मात्र बाँकी रहनेछ । 

संसदमा बुहमत जुटाउँछु भनेर दाबी गर्ने सांसदलाई प्रदेश प्रमुखलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने संबैधानिक व्यवस्था संविधानको धारा ७६ मा छ । यसरी नियुक्त भएका मुख्यमन्त्रीले पनि ३० दिनभित्र संसदको विश्वास जित्न सकेननन् भने प्रदेश प्रमुखले ६ महिनाभित्र मध्यावधि निर्वाचनको मिति घोषणा गर्नुपर्ने संवैधानिक प्रावधान छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update