Odapalika - The Fourth Estate - चौथो अंग
१ अर्ब बढी खर्चेर १ हजार किलोमिटर सडकमा पैदल मार्ग बनाउँदै काठमाडौँ महानगर 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुटपाथलाई यात्रुमैत्री बनाउन २ अर्व १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम थालेको छ । 

सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको महानगरले जनाएको छ । निर्माण कार्यका लागि छनौट भएका केही निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ भने मापदण्ड र निर्माण पक्षको क्षमताजस्ता प्राविधिक पक्षबाट काम हुन नसक्ने देखिएपछि केही सडकको पुनः बोलपत्रको सूचना भएको महानगरको भनाइ छ । 

सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको छ । यसअन्तर्गत मार्गमा रंगीन ब्लकहरु छापिनेछन् भने दरबारमार्ग क्षेत्रमा ग्रेनाइट छापिनेछ ।  

सार्वजनिक निर्माण विभागका अनुसार, वडा नं २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा यस अघि काम भइसकेको छ । अहिले वडा नं २६ लैनचौरबाट वडा नं १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ काम भइरहेको छ । 

४ करोड ५५ लाख रुपैयाँ लागतमा यो फुटपाथ बन्दै गरेको महानगरले जनाएको छ । लैनचौरबाट वडा लाजिम्पाट, महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डको कामका लागि सम्झौता भइसकेको महानगरले जनाएको छ । यसको लागत करिब १० करोड रुपैयाँ छ । 

प्रदर्शनी मार्गका सडकका दायँबाँय काम सुरु भइसकको छ भने  त्रिपुरेश्वरदेखिसुन्धारा, महावौद्ध, रत्नपार्क, जमल हुँदैे लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको महानगरले जनाएको छ । 

नयाँ बजार खण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्रभित्र करिब ११ करोड लागतमा काम हुँदैछ भने बालुवाटार सडक खण्डमा निर्माण कार्य गर्नका लागि सम्झौता भइसकेको छ । 

तीनकुनेदेखि सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा हुँदै गौशालासम्मको सडक दाँयाबाँया स्तरोन्नतिको लागि पनि  सम्झौता भइसकेको महानगरको भनाइ छ । 

नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको मार्गका लागि ३ करोड २३ लाख रुपैयाँ लागतमा र थापाथलीदेखि टेकुहुँदै कालीमाटीसम्मको सडक खण्ड बनाउन लागत ६ करोड रुपैयाँ बिनियोजन गरिउको महानगरले जनाएको छ । 

बागबजारदेखि चारखाल, डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगल सडक खण्डका लागि १० करोड लागतमा काम हुने महानगरको भनाइ छ । 

कालीमाटीदेखि सोल्टी मोडहुँदै कलंकीसम्म, गौशालादेखि वडा चावहिलसम्म, गौशालादेखि रातोपुलसम्मको सडक खण्डलाई एउटा प्याकेजमा राख्दै महानगरले यो सडकको दायाँबायाँ स्तरोन्ति गर्न १० करोड रुपैयाँ खर्चिने भएको छ । 

विशालनगरको भित्री सडकमा १ करोड ३५ लाख रुपैयाँ लागतमा काम हुँदैछ भने महाङ्काल ओरालोदेखि मिलन चोकसम्मका लागि ८० लाख रुपैयाँ लाग्नेछ । यो खण्डको कामका लागि सम्झौता चरणमा पुगेको छ । 

भगवान पाउदेखि जुडोल मार्ग जोड्ने सडकका लागि १ करोड लागत अनुमान गरिएको छ । यसको वोलपत्र आव्हान सूचना प्रकाशन भएको छ । बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यान हुँदै बनस्थलीतर्फको सडक खण्ड, जडीबुटी चोकदेखि पुरानो सिनामंगलपुलसम्मको सडक खण्डमा पनि  पैदल मार्ग निर्माण हुनेछ । 

माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै तीनकुनेसम्म १८ करोड रुपैयाँ लागतमा पैदल मार्ग र साइकल लेन निर्माण हुनेछे बालमन्दिरदेखि नक्साल,े नारायण चौर, हात्तीसार, कमलपोखरी हुँदैे डिल्लीबजार क्षेत्रका लागि ६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने धोवीखोला कोरिडोरको कपन सिमानादेखि बागमती दोभानसम्मको खण्डका लागि ११ करोड रुपैयाँ लागत मा पैदल मार्ग बन्ने महानगरको भनाइ छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा आएको छ । बाँकी सडक संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ । सडक जसको भए पनि पैदल मार्ग निर्माण, सम्भार र व्यवस्थापनमा महानगरपालिकाले काम गरिरहेको छ । 

यस खण्डमा छुटेका पैदल मार्ग निर्माण गर्नका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी सुधार गर्न, मर्मत गर्नका लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ । यसको खरिद प्रक्रियाअन्तर्गत सूचना प्रकाशन भइसकेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update