Odapalika - The Fourth Estate - चौथो अंग
पिसाब गर्ने कुकुर हैरानी महानगरको !

पोखरा । सौखका लागि कुकुर पाल्नेहरुको संख्या वढ्दो छ । पोखरा महानगरपालिका जस्तो शहरमा त कुकर पाल्नेहरु अलि वढी नै भएछन् । 

कुकुर घरमा पाल्नु र त्यसको फोहोर घरमै व्यवस्थापन गर्नु त राम्रै हो । तर पछिल्ला दिन पोखरेलीहरुले घरमा पालेका कुकुरलाई शाहरका चोकमा लगेर दिसा पिसाब गराउन थालेपछि पोखरा महानगरले हैरानी खेप्न थालेको छ । 

घरपालुवा कुकुरलाई शहरका चोकमा ल्याएर पिसाब र दिसा गराउन थालेको भन्दै महानगरले सार्वजनिक सूचना जारी गरेर कारवाही नै गर्ने चेतावनी दिएको छ । 

‘महानगरवासीहरूले घरको सुरक्षा एवं सोखका लागि पालेका कुकुरहरूलाई सार्वजनिक स्थल, सडक तथा खुला स्थानहरूमा दिसा पिसाब गराउने गरेको व्यापक जनगुनासो आएकाले वातावरणीय सरसफाइमा प्रतिकुल असर पार्ने अशोभनीय कार्य नगर्न र नगराउन पोखरा महानगरपालिका नगरवासीहरूमा हार्दिक अनुरोध गर्दछ,’ महानगरको सूचनामा भनिएको छ । 

महानगरले घरपालुवा कुकुरहरूलाई शौचको व्यवस्था आफ्नै घर कम्पाण्ड भित्र मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न अनुरोध गर्दै भनेको छ, ‘अन्यथा सार्वजनिक स्थल, सडक तथा खुला स्थानहरूमा दिसा पिसाब गराएको पाइएमा वा कुकुरहरूलाई बेवारिसे अवस्थामा छोडेको पाइएमा फोहोरमैला व्यवस्थापन नियमावलीमा व्यवस्था भएबमोजिम कानुनी कारबाही गरिने ब्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।’ 
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update