Odapalika - The Fourth Estate - चौथो अंग
पर्यटन राजधानी बनाउने अभियानमा जुटेको पोखरा महानगरले थाल्यो सफाइ अभियान 

पोखरा । पोखरा महानगरपालिकाले वडा कार्यालयहरुसंगको समन्वयमा नगरभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको सफाइ अभियान सुरु गरेको छ । 

शनिवार पोखरा–१९ को अकलादेवीको मन्दिरबाट अभियानको सुरुवात गरिएको हो । वडा कार्यायहरूले पनि सरोकारवालाहरूको सहभागितामा सफाइ कार्यक्रम गरिरहेका छन् । अभियान अन्तरगत मठमन्दिर, मस्जिद, गुम्बा, देवालय, पार्क, पँधेरी, गुफा, सडक, कोट लगायत स्थालहरुमा निरन्तर सफाइ कार्यक्रम गरिने मेयर धनराज आचार्यले जानकारी दिए । 

शनिवार अकलादेवी मन्दिर सहित विन्ध्यवासिनी मन्दिर, केदारेश्वर महादेवमणि मन्दिर, बुद्ध विहार, पोखरा २७ स्थित चन्द्रकालिका मन्दिर लगायतका स्थानहरूमा सफाइ गरिएको छ । 

सफाइ अभियान वातावरणीय स्वच्छता र मानव स्वास्थ्य प्रवद्र्धनमा केन्द्रित रहेको महानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ ।

pokhara-safai11696748628.jpg

महानगरपालिकाल पोखरा बसपार्कलाई व्यवस्थित गर्ने काम पनि संगसंगै गरिरहेको छ । बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन् । 

बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । 

बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्ष अमृत शर्माले जानकारी दिए ।

मेयर आचार्यका अनुसार पर्यटन राजधानीका रूपमा घोषणा हुने अन्तिम तयारीमा रहेको पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माण गरिनेछ । बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनहरूको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुटाइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उनको भनाइ छ ।

मुलुक कै दोस्रो ठुलो सहर पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट साना तथा ठुला गरी दैनिक हजारौँ सवारीसाधानहरु देशभरिका लागि छुट्ने गर्छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update