Odapalika - The Fourth Estate - चौथो अंग
गोकुलगंगा गाउँपालिकाको तरकारी बजारीकरणमा जुट्यो गोल्यान समूह 

काठमाडौँ । गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रालि र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा गाउँँपालिकाभित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको छ । 

पालिकाभित्र उत्पादित कृषि उपजलाई खरिद गरी गोल्यान समूहअन्तर्गतको जनता एग्रो एण्ड फरेष्ट्री र माटो ब्राण्डमार्फत बजारीकरण गर्ने भएको हो । 

गोकुलगंगाको कृषि उत्पादनमा वृद्धि गर्ने र किसानहरुलाई व्यवसायी कृषिमा लगाएर पालिकामा उत्पादन भएको कृषिउपज वस्तु खरिद गरी बजारको सुनिश्चितता गर्ने भएको छ । 

गोकुलगंगा गाउँपालिका कृषि उत्पादनमा ठूलो सम्भावना देखिएकाले जनता एग्रोले उक्त पालिकाबाट पहाडको उत्पादन बजारीकरण गरी विदेशसम्म निर्यात गर्ने वातावरण बनाउन लागिएको कम्पनीले बताएको छ ।

जनता एग्रो एण्ड फरेष्ट्री र माटो ब्राण्डले आगामी ५ वर्षमा ५० हजार किसानसँग जोडिने उद्देश्यका साथ गोकुलगंगा पालिकामा कृषि उपज तरकारी, फलफूल लगायतका वस्तु खरिद गरी बजारीकरण गर्ने योजनाका साथ गोकुलगंगा गाउँपालिकाबाट शुरुवात गर्न लागेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले बताए ।

उनले गोकुलगंगाको भुगोल, हावापानी र किसानहरुको उत्साह देखेर किसानहरुसँग सहकार्य गर्न उत्सुकता बढेको बताउँदै योजनाअन्तर्गत झापाका केही नगरपालिकामा जोडिसकेको समेत बताए ।

उनले गोकुलगंगा पहाडी जिल्लामा पहिलो परीक्षण रहेको भन्दै ५०० देखि ४ हजार ३०० सय मिटरको एउटै भुगोल भएकाले कृषिमा धेरै ठूलो सम्भावना देखिएको बताए । 

अध्यक्ष गोल्यानले सबै ठाउँमा बाटोको समस्याको कारण पुग्न नसकिए पनि रस्नालुसम्म पुग्दा साना किसान र कृषि प्रशोधनको लागि उपयुक्त ठाउँ भेटिएको उल्लेख गरे । उनले पालिकाका किसानहरुलाई केके उत्पादन गर्ने भन्नेकुरा क्यालेण्डर बनाएर दिने र किसानले उत्पादन गरेका सबै उत्पादन खरिद गरी बजारीकरण तथा विदेश निर्यात गर्ने बताए । 

गोकुलगंगाका किसानलाई कृषि खेतीका लागि आवश्यक कृषिकर्जाका लागि  सहजीकरण समेत गरिदिने योजना उनको छ । गोकुलगंगामा कन्ट्याक्ट फार्मिङ शुरुवात गरी त्यहाँका किसानको आम्दानी ५ वर्षमा दोब्बर बनाउने उद्देश्य रहेको उनको भनाइ छ । 

गोकुलगंगाको उत्पादनलाई काठमाडौंमा मात्रै नभएर विश्वभर रहेका ८० लाख एनआरएनहरुलाई पु¥याउने योजना रहेको बताउँदै भने, ‘गोल्यान समूहले गोल्यान एग्रो प्रा।लि।मार्फत माटो ब्राण्ड अगाडि नै स्थापित गराएका छौं । अहिले सर्टिफाइट अर्गानिक ब्राण्ड आशापुरी समेत जोडेर जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड सञ्चालनमा ल्याएका छौं । यसबाट विदेश निर्यात थालेका छौँ ।’

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले गोकुलगंगामा उत्पादन हुनसक्ने कृषिको सम्भावना र किसान पहिचान गरी कार्यविधि बनाएर अगाडि बढ्ने बताए ।

उनले पालिकाको सबैभन्दा ठूलो सम्भावना कृषि रहेकाले पालिकाले पनि कृषिमा प्राथमिकता दिएको बताए । पालिकाका किसानहरुको आम्दानीको स्रोत बनाउने र उत्पादित सामग्री खरिद गरिने कुरामा पालिका सकारात्मक रहेको भन्दै गोल्यान एग्रोसँग सहकार्य गर्न सकिने उनको भनाइ छ । 

अध्यक्ष खड्काले गाउँपालिका आफैँले पालिकामा उत्पादित कृषि सामग्री राख्नको लागि कोल्ड स्टोर बनाउने योजना रहेको भएपनि स्टोर सञ्चालनमा समस्या देखिएको बताए । 

गोल्यानले पहिलो चरणमा झापाका विभिन्न स्थानमा २०० बिघा जग्गा खरिद गरेर व्यावसायिक फार्मको स्थापना गरेर कृषिमा काम गरिरहेको छ । उत्पादनमा आफैँ अग्रसर गोल्यान समूहले देशभरबाट प्रांगरिक कृषिउपज संकलन गरी माटो ब्राण्डमार्फत बजारीकरण गरिरहेको छ । 

माटो ब्राण्डमार्फत मौसमी तरकारीसँगै फलफूल, चिया, कफी, मसला, बासनादार चामल, महलगायतका सबैखाले कृषिजन्य उपजहरू उपलब्ध गराउँदै आएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update