Odapalika - The Fourth Estate - चौथो अंग
यसै वर्षदेखि ‘एक पालिका एक हुलाक’ कार्यान्वयन गर्ने सरकारको तयारी 

काठमाडौँ । आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।

यो वर्ष विश्वासका लागि एकसाथ भन्ने नाराका साथ दिवस मनाइदैछ।हरेक वर्ष ९ अक्टोबरमा, स्विस राजधानी, बर्न मा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको थियो । 

विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चालु आर्थिक वर्षबाट नै एक पालिका एक हुलाक को अवधारणा कार्यान्वयन गर्ने बताएकी छन् । 

सोमबार विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै उनले सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्न आवश्यक भएको बताएकी छन् । 

‘सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती आएको छ । सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्याउने गरी सेवा प्रवाहका विन्दुहरू तय गरिएको थियो । विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्न आवश्यक देखिएको छ । चालु आर्थिक वर्षबाट नै यसको सुरुवात गरी एक पालिका एक हुलाक को अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको छ ।’

उनले हुलाक सेवाको विश्वव्यापी. सञ्जालमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रको रुपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

उनले मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्जाल रहे पनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था नभए पनि यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक र प्रतिस्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको उनको भनाई छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update