Odapalika - The Fourth Estate - चौथो अंग
९ रुपैयाँ केजीमा नुन खान पाउँदा दंग छन् मुगुम कार्मारोङ गाउँपालिकाबासी

काठमाडाैँ । पछिल्लो समय मुगु जिल्लामा रहेका ४ वटा स्थानीय तहहरुमध्ये मुगुम कार्मारोङ गाउँपालिका र आसपास क्षेत्रमा सरकारी अनुदानको नुन आउन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

पहिले अनुदानको नुन सरकारले बार्षिक कोटा नछुट्याएको हुँदा नुनप्रति केजी ९ रुपैयाँमा पाउर्ने नुन स्थानीय बजारमा प्रतिकेजी ५० देखि १०० रुपैयाँसम्म महङ्गोमा किनेर खानुपर्ने बाध्यता थियो ।

चीनको सिमानामा रहेको नाक्चेलाग्ना हाटबाट नुन प्रयोग गर्दै आए पनि ३ बर्षयता कोरोना महामारीका कारण भन्दै चीन सरकारले नाक्चेलाग्नाको हाट बन्द गरिदिएकाले समस्या भएको थियो ।

mugumkarmarong-salt (2)1696847531.JPG

मुगुम कार्मारोङ डोल्फु, चितै, दाउरा, पुव, सेरोग, किम्री, मह, माग्री, मह, रिउस, गाउँका बासिन्दाको नुनको समस्या समाधानका लागि जिल्लामा रहेका सरोकारवाला निकाय र स्थानीय सरकारको  पहलमा अचेल वडाहरुमै सरकारी अनुदानको नुन आउन थालेको हो ।

बिगत वर्षहरुमा चीन र मुगुको सिमाना नाक्चेलाग्ना नाकामा हाटबजार लाग्दा नुनलगायत अन्य सामान किन्नुपर्थ्यो । नत्र सदरमुकाम गमगढी बजार पगेर नुन र अरु चिजवस्तु किन्नुपर्ने बाध्यता थियो ।

अनुदानमा ९ रुपैयाँमा पाइने नुन लिन घरबाट बजार जान र  आउन मात्र ५०० सय रुपैयाँ बढी खर्च हुन्थ्यो । स्थानीय पेपा छुल्दिम लामाका अनुसार स्थानीय सरकारको पहलमा वडामा प्रतिघर ३० केजी नुन ९ रुपैयाँले पाउँदा निकै सहज भएको छ ।

बिगतका वर्षमा मुगुका छाँयानाथ रारा नगरपालिका, सोरु, खत्याड गाउँपालिकाका नागरिकहरुलाई वार्षिक नुनको कोटा निर्धारण गरिएको भए पनि मुगुम कार्मारोङ गाउँपालिकालाई भने कोटा निर्धारण भएको थिएन ।

mugumkarmarong-salt (3)1696847529.JPG

गाउँपालिकाबासीले ५ केजी नुन लिन सदरमुकाम आउँदा जाँदा ५–६ हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो । यही समस्यालाई मध्यनजर गरेर जिल्लामा रहेको साल्ट टेडिङ्ग कर्पोरेसनको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेर पालिकाभित्र रहेका सबै वडाका नागरिकहरुलाई वडा कार्यालयबाटै प्रतिघर ३० केजीका दरले नुन उपलब्ध गराउन थालिएको गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update