Odapalika - The Fourth Estate - चौथो अंग
बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार 

महोत्तरी । बर्षायाममा नै महोत्तरीको बर्दिवास नगरपालिका र आसपासका उत्तरवर्ती गाउँहरुमा खानेपानीको चरम अभाव देखिएको छ । भएका डिप बोरिङ्ग तथा कलवाट पानी आउन छाडेपछि खानेपानीको अभाव भएको हो ।

अनियन्त्रित चुरे दोहन र अतिक्रमणले अघिल्लो बर्षको तुलनामा पानीका मुहान र डिप बोरिङ्ग नै सुक्न थालेको स्थानीयहरु बताउँछन् । 

जिल्लाको पशुपतिनगर, बिजलपुरा, माख्लो भब्सी, तल्लो भब्सी, भंगाहा, गौशाला जस्ता ठाउँहरुमा खानेपानीको समस्या वढदै गएको छ ।

स्थानीय सरकारले डिप बोरिङ्ग वनाउन पहल गरेपनि  त्यस्ता योजना पहुँचवालाहरुको पोल्टामा मात्र छ ।  

‘इनारमा ध्यान नदिने तर कसैको घरमा मात्र बोरिङ्ग वनाइदिदा बिजलपुरा समस्याग्रस्त वन्दै गएको छ,’ बिजलपुरा–१३ बर्दिवासका स्थानीय रामबिनेश महतोले भने ।

निक्कै अपेक्षाका साथ जिताइएका जनप्रतिनिधिहरुले सामुहिक स्वार्थका निमित्त काम गर्न नसक्दा पिउने पानीवाट नै सर्वसाधारण वन्चित वन्ने अवस्था सिर्जना भएको स्थानीय युवा रोशन महतो वताउँछन्  ।

‘मिडियामा समाचार आएपछि जनप्रतिनिधिहरु काम गरेजस्तो गर्छन त्यसपछि मतलव नै हुदैन,’ उनको गुनासो छ । 

बर्दिवास नगरपालिकाको पशुपतिनगरको कतिपय ठाउँमा इनारवाट पाइपमा पानी सप्लाइ गरिएको छ । तर बनाएका इनार समेत स्थानीय सरकारले संचालन गर्न नसक्दा खानेपानी मात्र हैन सिंचाइमा नै समस्या झेलिरहेको स्थानीयय किसुनदेव महतो वताउँछन् ।

यता जनप्रतिनिधिहरुले भने योे समस्या समाधानमा प्रतिवद्ध रहेको बताइरहेका छन् ।  बर्दिबास–९ का वडा अध्यक्ष घुरन महतोले खानेपानी समस्याको दिर्घकालीन समस्या समाधानका लागि काम भइरहेको बताए ।

चुरे दोहनले खानेपानीका स्रोत सुक्दै

उत्तरवर्ती क्षेत्रमा देखिएको चुरे दोहनको प्रभाव खानेपानीमा देखिदै गएको छ ।

चुरे क्षेत्रको अतिक्रमण गरी बसोबास गर्ने र फडानी गर्ने जस्ता मानवीय क्रियाकलाप नरोकिदा पानीमा समस्या वढेको स्थानीयहरुको अनुभव छ । 

मुहान फुटेर उम्रने कतिपय ठाउँहरु समेत अहिले सुख्खा वनेका छन् । एकातिर बर्षायामको मध्यमा देखिएको खडेरीका कारण  वातावरणबिज्ञहरुले चिन्ता  गरिरहेको वेला समस्या नै समस्या देखापर्नु डरलाग्दो संकेत भएको वातावरणविद् बिराट पन्त वताउँछन् ।

मापदण्डविपरित गरिएका नदी उत्खननले पनि पानीको सतह गहिरिएर उत्तरवर्ती गाउँहरुमा पानी पाउन नै मुस्किल वनेको स्थानीययहरु वताउँछन् ।

जनप्रतिनिधिविहीन वन्दा समस्या थपिदै

जिल्लाको उत्तरवर्ती क्षेत्रको नेतृत्व गर्ने संघीय सांसद फरार छन् । हत्या अभियोगमा अदालतले पुर्पक्षको लागी जेल चलान गर्नुपर्ने फैसला सुनाएदेखि नै कानुनी छिद्रवाट निर्वाचन लडेका लक्ष्मी महतो कोइरी यो क्षेत्रबाट निर्वाचित भएका हुन् । 

फरार अभियुक्त भएको थाहा पाउदापाउदै नेकपा एमालेले टिकट दिएर जिताएपनि उनी हाल निलम्बनमा छन् । मधेश आन्दोलनको समयमा दुइपक्ष झडप भएर गम्भीर घाइते भएका सुरक्षाकर्मी थमन बिकलाई उपचारको क्रममा एम्बुलेन्समा लैजाने क्रममा वाटोमा नै हत्या गरेको उनीमाथि अभियोग छ । 

सरकारले सोही मुद्दामा पक्राउ गर्ने तयारी गरेपछि उनी फरार छन् । संघमा नेतृत्व गर्ने जनप्रतिनिधि नै नभएपछि स्थानीयको समस्यामा संघीय सरकारसम्म आवाज पुर्याउन नसकिएको स्थानीयको गुनासो छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update