Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले नगरबासीलाई निःशुल्क रगत दिने,  डेरावाललाई भने छैन सुविधा

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले आफ्ना नागरिकलाई निःशुलक रगत उपलव्ध गराउने भएको छ । महानगर र नेपाल रेडक्रस सोसाइटीबीच आज निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउनेसम्वनिध सम्झौता समेत भएको छ । 

नगरप्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीकातर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन लागिएको हो । 

सम्झौतापछि महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले रगत प्राप्त गर्न कसैलाई फोन गराउनु पर्ने, शिफारिस गराउनु नपर्ने गरी काम गर्नुपर्ने बताइन् । 

‘नियमित रक्तदान कार्यक्रम र संकलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यसबेला कसैलाई शिफारिस गर्नु पर्ने स्थिति हुँदैन । महानगरबासीबाट थालिएको निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिनेछ,’ डंगोलले भनिन् । 

जनस्वास्थ्य विभागका प्रमुख पौडेलका अनुसार महानगरपालिकाबासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २०० रुपैयाँ महानगरबाट रुपैयाँ उपलब्ध गराइनेछ । 

सम्झौतामा महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई २०० रुपैयाँ उपलब्ध गराउने उल्लेख छ । रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालका अनुसार रक्त व्यवस्थापनमा महानगरपालिकासँग भएको यो सम्झौता महत्वपूर्ण हो । 

सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेश गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ ।   

बागमती प्रदेशले महानगरपालिकाभित्रका ५ वटा अस्पतालहरु (परोपकार स्त्री तथा प्रसुति अस्पताल, कान्ति बाल अस्पताल, त्रि. वि. शिक्षण अस्पताल, बीर अस्पताल र सहिद गंगालाल हृदय केन्द्र) मा वागमती प्रदेशका विरामीले उपचार गराउँदा चाहिने रगत र रक्त तत्वको खर्च व्यहोर्न सम्झौता गरिसकेको छ । यसबाहेकका अस्पतालका लागि महानगरपालिकाले व्यवस्थापन खर्च व्यहोर्नेछ । 

पौडेलका अनुसार डेङ्गी, क्यान्सरलगायत केही रोगमा विरामीको रगतमा तत्काल प्लेटलेट्स घट्छ । यस्तो अवस्थामा सामुहिक रक्तदानमा संकलन भएको ६ जनादेखि ८ जनासम्मको रगतबाट प्लेटलेट्स छुट््याएर एक जना विरामीका लागि आवश्यक मात्रा तयार पारिन्छ । 

अहिले नेपाल रेडक्रस सोसाइटीले १०० जना योग्य व्यक्तिबाट महानगरपालिकाको शिफारिसमा रक्त सञ्चार सेवाले एफेरेसिस व्लड डोनेसन (सिङ्गल डोनर प्लेटलेट्स) उपलब्ध गराउनेछ । यो भनेको प्रति माइक्रोलिटर १ लाख ५० हजार प्लेटलेट्स गणना हुने १८ बर्षदेखि ५५ बर्ष उमेर समूहका व्यक्तिबाट प्लेट्लेट्स लिनु हो । 

सामान्यतयाः ६ जनादेखि ८ जनासम्म व्यक्तिबाट संकलन गरिएको रगतबाट प्लेटलेटस छुट्याएर एक व्यक्तिका लागि आवश्यक मात्रा बनाइन्छ । धेरै व्यक्तिबाट संकलन गरिएको प्लेट्लेट्सभन्दा योग्य एकै जना रक्तदाताबाट संकलन गरिएको प्लेटलेट्स वढी शक्तिशाली र प्रभावकारी हुने रेडक्रसको भनाइ छ । 

सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ । यस्ता कागजलाई विरामी वा विरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ । 

आकस्मिक र आपतकालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भएमा तिरिएको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिइनेछ । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update