Odapalika - The Fourth Estate - चौथो अंग
दाइ, बा, कमरेड र श्रीमानहरु

हामीले गत साउन १ गतेदेखि वडापालिका डटकम सुरु गर्याैं । साउनयता प्रत्येक दिनजसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विज्ञप्तिबाट कम्तिमा एउटा समाचार बनाउनु परिरहेको छ । समाचारको व्यहोरा करिब एउटै– फलानो पालिकाको फलानोलाई अख्तियारले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सार्वजनिक गर्ने पछिल्ला विज्ञप्तिहरु हेर्दा स्थानीय तहहरु भ्रष्टाचारको दलदलमा फसेका छन् कि जस्तो आभास हुन्छ । कुनै दिन त स्थानीय तहका कर्मचारी वा पदाधिकारी विरुद्ध एकभन्दा बढी मुद्दा दायर भएका घटना पनि सार्वजनिक हुन्छन् ।

स्थानीय तहलाई नै केन्द्रमा राखेर समाचारकर्म गर्न थालेपछि हामीलाई अझ बढी जानकारी भयो– स्थानीय तहमा बेथितिका चाङ छन् । र, हामीलाई अर्काे कुरा पनि जानकारी भयो– स्थानीय तहमा ४ लाख, ५० हजार वा ५÷७ लाख रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भने पनि उजुरी पर्छ, अख्तियारले अनुसन्धान गर्छ र मुद्दा दायर हुन्छ ।

भ्रष्टाचार काहीँ पनि हुनुहुँदैन । कसैले पनि भ्रष्टाचार गर्नु हुँदैन । सानो–ठूलोको कुरो भएन, भ्रष्टाचार गर्नै हुन्न । त्यसैले स्थानीय तहमा भएका भ्रष्टाचारप्रति थप निर्मम बन्नैपर्छ । त्यसैले स्थानीय तहमा ह्वीसलब्लोअरलाई थप प्रोत्साहन गर्नुपर्छ र ह्वीसलब्लोइङलाई थप प्रबद्र्धन गरिनुपर्छ ।

यसो भन्दै गर्दा संघको अवस्था के छ त ? एकपटक यता पनि ध्यान दिन आवश्यक छ । त्यसका लागि राजनीतिज्ञ हृदयेश त्रिपाठीको भनाइ नै काफी छ । सार्वजनिक लेखा समितिको पूर्वसभापति समेत रहेका त्रिपाठीले एक प्रसंगमा भनेका थिए– यहाँ जति पनि भ्रष्टाचारका ठुला काण्ड छन्, ती सबै राष्ट्रिय सहमतिका आधारमा भएका भ्रष्टाचार हुन् । राष्ट्रिय सहमति भएर नै भ्रष्टाचारका ठुला काण्डहरु हुने हुन् ।

असोज २१ गते मात्रै अख्तियारले सर्लाहीको चर्चित सर्पकाण्डमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गर्याे । झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचारकाण्ड गराउने सो संस्थाको नाम पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाममा राखिएको छ । अर्थात प्रतिष्ठानको नाम नै–झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान छ ।

झलनाथ खनालको नाममा प्रतिष्ठान खोलिएको छ । उनी पूर्वप्रधानमन्त्री, नेकपा एमालेको पूर्वअध्यक्ष र अहिलेको सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको सम्मानित नेता छन् । उनी दुई खुट्टा टेकेर जिउँदै यो धर्तीमा हिडिरहेका छन् । उनकै नाममा खोलिएको प्रतिष्ठानलाई राज्यकोषबाट १८ करोड रुपैयाँ दिइएको छ । जतिबेला राज्यकोषबाट खनालको नाममा खोलिएको संस्थालाई पैसा दिइयो, जतिबेला अख्तियारले अनुसन्धान गर्याे, त्यो बेला उनी सत्ता साझेदार दलको प्रभावशाली नेता छन् । अनि अख्तियार भन्छ– झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको १८ करोडको भ्रष्टाचार काण्डमा झलनाथ खनालको संलग्नता पाइएन । अख्तियारको यो भनाइलाई जोक्स सम्झेर हामी हास्ने हो ? कि नेपालको कानुनलाई सपेराले सर्प नचाए जस्तै नचाउन सकिन्छ भनेर मान्ने हो ! 

यो प्रकरणमा झलनाथजीको मिलेमतो छैन भने उनले आफ्नो नाममा प्रतिष्ठान खोल्न किन दिए ? आफ्नो नाममा खोलिएको एनजीओलाई आफ्नो पार्टी नै सरकारमा भएका बेलामा राज्यकोषबाट त्यति धेरै रकम लुट्न दिदा के रमिता हेरेर बसेका थिए उनी ? सबै घटनाक्रम नियाल्दा ठोकेर भन्न सकिने कुरा के हो भने यो १८ करोड रुपैयाँ सर्पकाण्डमा झलनाथजीको संलग्नता वा मिलेमतो छ । झलनाथ खनाल नाम गरेका मान्छे अरु पनि हुन्छन्, त्यसैले सो नामको प्रतिष्ठान खोल्नबाट उनले रोक्न सक्दैनथे भन्ने टाइपको कुतर्क चै अस्वीकार गरिन्छ यहाँ ।

तर, सरी झलनाथजी ! म व्यक्तिगत रुपमा कानुनी शासनको पक्षपाती हुँ । कानुन मान्छु ।  कानुन अनुसार मात्रै दण्ड, सजाय वा पुरस्कारको व्यवस्था हुनुपर्छ भन्छु । त्यसैले नेपालको कानुनले तपाईलाई चोख्याएको छ । राष्ट्रिय सहमति बनाएर तपाईंलाई कानुन अनुसार नै निर्दाेष बनाइएको छ । तपाईं भ्रष्टाचारको मुद्दा नचलाउनु पर्ने सुचीमा पर्नुभएको छ । त्यसैले चैन गर्नुस्, तपाईं निर्दोष हुनुहुन्छ । बरु यही खुसीयालीमा ‘लुट्न सके लुट कान्छा’ गीतमा एउटा टिकटक बनाए हुन्छ झलनाथजी ।

भ्रष्टाचारको मुद्दा नचलाउनु पर्ने सुचीमा संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि छन् । हुन त पछिल्लो समयको गतिविधि हेर्दा उनको पार्टी नै लोकसेवा पास गरेर सरकारमा गएको जस्तो देखिन्छ । नेकपा माओवादी केन्द्रका लागि सरकार स्थायी जागिर भएको छ । जनताले माओवादीलाई सरकारमा जाने जनमत दिएका छैनन् । तर, अनेक तिकडम र दाउपेच गरेर संसदको तेस्रो दलमा सिमित भएपनि माओवादी केन्द्र २०७२ सालयता अविछिन्न रुपमा सरकारमा छ ।

माओवादी लडाकु शिविर भ्रष्टाचार काण्डमा नाम जोडिए पनि महरामाथि कानुनी अनुसन्धान भएन । संचारमन्त्री बनेका बेलामा कौडीको भाउमा फ्रिक्वेन्सी बेचिए पनि उनीमाथि प्रश्न गरिएन । एक चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेको अडियो टेप नै सार्वजनिक हुँदा पनि उनीमाथि कुनै कारबाही भएन ।

पछिल्लो समय उनी जोडिएको भेप प्रकरणमा पनि ‘महरा सर’ले उन्मुक्ति पाए । त्यही सुन तस्करसँग सम्बाद र भेटघाट भएको प्रमाणपछि उनका छोरा राहुल भने कानुनी दायरामा परे तर कृष्णबहादुरजीले कानुनी कठघरामा उभिनु परेन । सायद ‘राजालाई छोरो र देउतालाई बोको दिदा हुन्छ’ भन्ने नेपाली मान्यताले काम गर्याे कि !

महराजीलाई जोगाउन राष्ट्रिय सहमति भयो । उनलाई कानुनले छोएन । धेरै नेपालीलाई लाग्छ– महराजी गैरकानुनी आर्जन र गलत कामका पर्याय हुन् । पैसा र पदका लागि उनी जे गर्न पनि तयार छन् ।

सरी महराजी ! तपाईंलाई नेपालको कानुनले दोषी करार गरेको छैन । कानुनले दोषी करार नगरुन्जेल हामी तपाईंलाई दोषी मान्न सक्दैनौं । किनभने हामी कानुनी राजको पक्षपाती हौं । र, हामीलाई थाहा छ महराजी– फर्गेट एस्टर्डे, रिलाक्स टुडे विथ हिमालयन रिजर्भ एण्ड थिङ्क अबाउट टुमारो ।

नेपालमा भ्रष्टाचारको मुद्दा नचलाउनु पर्ने सुचीमा समावेश भएका अर्का व्यक्ति हुन्– श्रीमान कुमार रेग्मी । सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मी बालुवाटारको चर्चित ललिता निवास काण्डमा मुछिएका व्यक्ति हुन् । तर, उनी श्रीमान हुन् । श्रीमानलाई मुद्दा नचलाउन राष्ट्रिय सहमति भएको छ ।

नत्र, ललिता निवासको ११ आना जग्गा किनेको, त्यसमध्ये साढे १ आना बाटोमा परेको जग्गा सरकारलाई फिर्ता गरेको भनेर बाँकी साढे ९ आना बेचेर खाँदा पनि कसैले उन्मुक्ति पाउछ ? न्यायाधीश कुमार रेग्मीले गरेको यही हो । ललिता निवासको जग्गा किन्नेहरु अहिले कानुनी कारबाहीको दायरामा छन् । तर, न्यायाधीश रेग्मी भने त्यही जग्गा किनेर पनि विक्री गरेर खाइसक्दा निर्दाेष ठहर हुन्छन् ।

मानौं कुनै दिन कुनै मुद्दा मामिला पर्याे र न्यायको लागि सर्वाेच्च जानु पर्याे । त्यस मुद्दाको न्यायाधीश कुमार रेग्मी नै परे भने उनलाई न्यायमूर्ति स्वीकार गर्न आत्मालाई कसरी मनाउने होला ? सरकारी जग्गा बेचेर खाने कुमार रेग्मी जस्ता न्यायमूर्ति भएको सर्वाेच्च छिर्दा आत्मसम्मानमा बाँचेको मान्छे कसरी छिर्छ होला ? 

म तपाईंलाई कुनै दोष लगाउँन्न कुमार रेग्मी श्रीमान् । तपाईं निर्दाेष हुनुहुन्छ । नेपालको कानुनले तपाईंलाई निर्दाेष ठहर गरेको छ । म कानुन मान्ने मान्छे । तपाईं जस्ता कानुनी रुपमा निर्दाेष मान्छेको सफेद कोटमा नाङ्गो आँखाले छ्याङ्गै देखेको कैफियतलाई प्रश्नका रुपमा टाँसिदिएर तपाईंको वास्तविक अनुहार उदाङ्गो बनाइदिन सक्दिनँ । बरु एउटा सल्लाह दिन्छु– तपाईं निर्दाेष हुनुहुन्छ, नारायाण गोपालले गाउनु भएको ‘तिमीले भनेका सारा देव छोएर म किरिया खान कहाँ सक्छु र’ भन्ने गितमा टिकटक बनाउँदा जाती होला कुमार रेग्मी श्रीमान् ।

नेपालमा भ्रष्टाचारको काण्डहरुमा मुछिएका तर मुद्दा नचलाउनु पर्ने नामहरु अरु प्रसस्तै छन् । तर, अब ती काण्ड सम्झेर के गर्ने ? जस्तो कि वाइडबडी– विर्सियो । यति/ओम्नी– के हो त्यो भनेको ? लडाकु शिविर काण्ड– फर्गेट एस्टर्डे । ललिता निवास– कति एउटै कुरामा अल्झेको । भुटानी शरणार्थी प्रकरण– हराएको गाई सूर्यलाई दान । पृथ्वी शाह प्रकरण– रोल्पामा मयुर नाच, सिंह दरबारमा ताण्डव नृत्य । एम अधिकारी– बेमौसमको बाजा । सर्वाेत्तम सिमेन्टको एफपिओ प्रकरण– उपरवालेका खेल । र, नेपाली जनताको वाध्यता– श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ! 

नेपाली जनताले अब यसरी नै चित्त बुझाउने हो । किनभने अदालत जाउँ– परीक्षामा फेल भएपनि नेताको निगाहमा पास ठहरिएका यिनै पार्टी र नेताले नियुक्त गरेका कार्यकर्ताहरु न्यायमूर्ति बनेर बसेका छन् । प्रहरीका हाकिम यिनै पार्टी र नेताले भागबण्डामा नियुक्त र बढुवा गरेका कार्यकर्ता छन् । अख्तियारका आयुक्तहरु यिनै पार्टी र नेताले भर्ना गरेका उनीहरुका कार्यकर्ता छन् । सुशासन र न्याय सम्पादनको लागि काम गर्नुपर्ने निकाय यिनै र यस्तै हुन् । तर, ती निकायका प्रमुख र पदाधिकारीहरु आफूलाई नियुक्ति दिने नेता र दलको अनुकुल हुने काम मात्रै गरिरहेका छन् । तर, स्थानीय तहमा यस्तो भइसकेको रहेनछ । त्यसैले स्थानीय तहमा भएका भ्रष्टाचार अलि बढी सार्वजनिक भएको मात्रै हो ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update