Odapalika - The Fourth Estate - चौथो अंग
महानगरको अगुवाइमा काठमाडाैँका सामुदायिक कुकुर र बिरालाेको बन्ध्याकरण 

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर (सडकमा छाडिएका) र बिरालोको बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान थालेको छ । 

आज महानगरका वडा ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट एकैसाथ बन्ध्याकरण र खोपका कार्यक्रम सञ्चालन गर्ने मेयर बालेन्द्र शाहले बताएका छन् । पशु कल्याण र पशु अधिकारका लागि महानगरले यो अभियान थालेको उनको भनाइ छ । 

आउँदो ३ महिनाभित्र ५ हजार ८०० कुकुरको बन्ध्याकरण र १६ हजार कुकुरलाई रेबिज विरुद्धको खोप दिने उनको भनाइ छ ।

मेयर शाहका अनुसार ९ वडा हुँदै ३२ वडासम्म अभियान चलाइने छ । कुकुरलाई बन्ध्याकरण र रेबिज विरुद्धको खोप दिन  तोकिएका संस्थाहरु तोकिएका वडामा पुग्नेछन् भने जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र बिरालो समाइने छ । यसरी समातिएका कुकुर बिरालाको बन्ध्याकरण गरिने जनाइएको छ । 

खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा सङ्केत  चिह्न हुने मेयर शाहले बताए  । 

महानगरपालिकाले कुकुर–बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि नै जारी गरेर काम अघि वढाइएको जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update