Odapalika - The Fourth Estate - चौथो अंग
सबै स्थानीय तहमा सामाजिक सुरक्षा कोषको पत्रः श्रमिकलाई कोषमा आवद्ध गर्न सहयोग गरिदिनुस्

काठमाडौँ । सामाजिक सुरक्षा कोषले सबै स्थानीय तहमा पत्राचार गरेको छ । स्थानीय तहले औपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गर्नको लागि सहजीकरण गरिदिने र अनौपचारिक क्षेत्रका श्रमिकको लागि आवश्यक पहल गरिदिन कोषले पत्राचार गरेको हो ।

अहिले सबै प्रकारका रोजगारदाताको पहिलो सम्पर्क स्थानीय तह हुने भएकोले सबै श्रमिकलाई कोषमा आवद्ध गराउन स्थानीय सरकारको पनि सहयोग अपेक्षा गरिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले बताए ।

‘सबै प्रकारका रोजगारदाताहरु कुनै न कुनै रुपमा स्थानीय तहको नियमन दायरामा हुन्छन् । जस्तो कि सबै कम्पनी वा प्रतिष्ठानहरु वडामा दर्ता हुनै पर्छ । श्रम ऐनको व्यवस्था अनुसार औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नै पर्ने हुन्छ । त्यसैले आफ्नो जुनसुकै नियमन दायराभित्र परेका रोजगारदाता भएपनि उनीहरुका श्रमिकलाई कोषमा आवद्ध गराउन सहयोग र सहजीकरण गरिदिनुस भन्ने अनुरोध गर्दै हामीले सबै स्थानीय तहहरुलाई पत्राचार गरेका छौं,’ सहप्रवक्ता रेग्मीले वडापालिकासँग भने ।

स्थानीय तहले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषमा आवद्ध गराउन पहल गरेमा देशभरका श्रमिक कोषमा आवद्ध हुने अवस्था रहन्छ । जस्तो कि सबै प्रकारका कम्पनी, फर्म, संस्था वा प्रतिष्ठानहरु वडा कार्यालयहरुमा दर्ता हुनुपर्छ । र, प्रत्येक वर्ष ती कम्पनी, फर्म वा प्रतिष्ठानहरुले वडा कार्यालयमा दर्ता नविकरण गर्नुपर्छ । स्थानीय तहले दर्ता नविकरणको समयमा त्यस्ता कम्पनी, फर्म, संस्था वा प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध भए नभएको स्वघोषणा गर्न लगाउने र कोषमा आवद्ध गरेपछि मात्रै नविकरण गरिदिने व्यवस्था गरेमा औपचारिक क्षेत्रका सबै श्रमिक कोषमा आवद्ध हुनेछन् । औपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध हुनै पर्ने कानुनी व्यवस्था र सो कानुन कार्यान्वयनमा संघीय सरकारले पनि उत्तिकै चासो दिएको कारण स्थानीय तहहरुलाई कोषमा आवद्ध गराउने पहल लिन सहज हुने देखिन्छ ।

यस्तै, स्थानीय तहले आफ्ना अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई पनि कोषमा आवद्ध गराउन सक्छन् ।

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको सवालमा भने सबैभन्दा ठूलो भूमिका स्थानीय तहकै रहन्छ । अनौपचारिक क्षेत्रका काम गर्ने श्रमिकलाई स्थानीय तह आफैले रकम हालेर पनि कोषमा आवद्ध गराउन सक्छन् । कोषले स्थानीय तहहरुलाई पठाएको पत्रमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि कोषमा आवद्ध गराइदिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update